• १० कात्तिक २०८१, शनिबार

औषधीको मूल्य समायोजनका लागि सुझाव समिति गठन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध हुने गरी मूल्य समायोजन आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव समिति गठन गर्नुभएको छ । 

अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा गठन भएको सात सदस्यीय सुझाव समितिको सदस्यमा स्वास्थ्यविद् डा. अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा. देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन् । 

यसै गरी औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव रहनुभएको छ । 

समितिलाई छिमेकी देशहरूले अपनाइएको औषधी मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने स्वच्छ मूल्य निर्धारणसम्बन्धी आधारहरू पहिचान गरी गर्नुपर्ने नीतिगत सुधारसम्बन्धी सुझाव दिनुपर्ने निर्देशन रहेको छ । 

मन्त्रालयका अनुसार समितिले औषधी मूल्य सम्बन्धित विषय वस्तुबारे अभ्यास पुनरवलोकनसमेत गरेर गुणस्तर पहिचान गरी सुझाव सिफारिस गर्ने छ । औषधीको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयातनिर्यात अवस्था तथा सरकारी नीतिबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिने छ । समितिले नीतिगत एवं मूल्य निर्धारणबारे सुझाव मन्त्रीसमक्ष प्रस्तुत गर्ने छ ।