वित्तीय कारोबारसम्बन्धी आधारभूत ज्ञानलाई वित्तीय साक्षरता भनेर बुझ्नुपर्दछ । वित्तीय साक्षरतालाई वित्तीय चेतना, वित्तीय शिक्षा, वित्तीय जागरण, वित्तीय सचेतना जस्ता शब्दावलीले पनि पुकारिन्छ ।
सामान्य अर्थमा पैसाको कारोबार नै वित्तीय कारोबार हो भने पैसाको काम गर्ने अन्य साधनको कारोबार पनि यस अन्तर्गत नै पर्दछन् । वित्तीय कारोबारसम्बन्धी ज्ञानले हाम्रो दैनिक जीवनमा प्रयोग हुने वित्तीय साधन र तिनको प्रयोगसम्बन्धी ज्ञानको क्षितिज फराकिलो पार्दछ । हामी हाम्रो दैनिक जीवनमा आवश्यकता अनुसार पैसा लेनदेख गरिरहेका हुन्छौँ । समय अनुसार वित्तीय कारोबारका माध्यम नयाँ प्रादुर्भाव र परिवर्तन भइरहेका हुन्छन् । सूचना प्रविधि क्षेत्रमा आएको तीव्र विकासले यस प्रकारका साधन र सोको प्रयोगको प्रणाली परिवर्तन भइरहेको छ । ती साधनको प्रयोग गरेमा जीवन सजिलो र गुणस्तर बनाउन मद्दत पुग्दछ ।
अहिले अधिकांश वित्तीय कारोबार बैङ्कमार्फत हुन थालेको छ, यसैले वित्तीय साक्षरता भन्नाले बैङ्किङ ज्ञान भनेर पनि बुझिन्छ । कानुनबमोजिम स्थापित तथा नियामक संस्थाद्वारा नियमन र सुपरिवेक्षण हुने भएकाले बैङ्कमा खाता खोल्नु, बचत गर्नु, कर्जा लिएर उद्यम गर्नु, एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउनु आदि कार्य बैङ्कमार्फत गरेमा सुरक्षित हुन्छ ।
बैङ्कद्वारा प्रदत्त सेवा र साधनको सुरक्षित उपयोगसम्बन्धी ज्ञान, सूचना प्रविधिको विकाससँगै विकास हुँदै गएका डिजिटल वित्तीय कारोबारसम्बन्धी ज्ञानका साथै यदाकदा वित्तीय ठगीबाट सुरक्षित रहँदै सोको उपयोग गर्ने ज्ञान पनि वित्तीय साक्षरताकै क्षेत्र अन्तर्गत पर्दछ । डिजिटल वित्तीय कारोबारले मान्छेको जीवनलाई अत्यन्त सुविधाजनक बनाएको भए पनि यसमा रहेको जोखिमबारे बेलैमा सजग हुनुपर्दछ।
न्यून वित्तीय पहुँच तथा बेरोजगारी व्याप्त भएको नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि वित्तीय चेतनाको अभिवृद्धि झन् महìवपूर्ण छ । यस चेतनाले वित्तीय बजार र वित्तीय उपकरणमा आएका जटिलता र जोखिम न्यूनीकरण गर्न मद्दत गर्दछ । बैङ्किङ ज्ञानले उद्यममार्फत आयआर्जनका लागि पुँजी जुटाइदिने हुँदा स्वरोजगार बन्न सहयोग पु¥याउँछ । आजका युवा भविष्यको नेपालका निर्माता भएको हुँदा वित्तीय साक्षरताले बैङ्किङ अभ्यास, बचतको माध्यमबाट पुँजी निर्माण, स्वउद्यम सिर्जना, खर्चमा मितव्ययी, चरित्रमा नैतिकवान्, सामथ्र्यवान् बन्न प्रेरित गर्ने र भावी दिनमा उनीहरू स्वयम्का साथै मुलुकको समावेशी आर्थिक समृद्धिमा टेवा पुग्न सक्दछ ।
वित्तीय चेतनाको माध्यमबाट औपचारिक वित्तीय संस्थामा कारोबार गरी सस्तो ब्याजदरमा कर्जा उपयोगमार्फत मुलुकको उत्पादन, उपभोग, लगानी एवं रोजगारीको अवस्थामा सकारात्मक प्रभाव पर्दछ । वित्तीय साक्षरता मूलतः वित्तीय पहुँचको अवसरबाट वञ्चित सर्वसाधारणका लागि आवश्यक भए पनि शिक्षित, उच्च वर्ग र क्षेत्रका व्यक्तिका लागि समेत आवश्यक छ ।
बैङ्किङ कारोबार गर्नुअघि सोका बारेमा जानकारी नलिँदा आफू ठगिएको, बैङ्क तथा वित्तीय संस्थाहरूले अन्योलमा राखेको भन्ने जस्ता गुनासा सुनिने गरेका छन् । वित्तीय चेतना अभिवृद्धिद्वारा यस्ता समस्या समाधान गर्न सकिन्छ । बैङ्किङ सेवा उपयोग गरी आफ्नो धनको सुरक्षा गर्नुका साथै आर्थिक उन्नतिको चेतना वित्तीय साक्षरताले दिने गर्दछ।
यसरी मुलुकको सर्वतोमुखी आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता पहिलो आवश्यकता हो । यसर्थ यसको अभिवृद्धिका लागि समाज तथा राष्ट्रका सचेत वर्ग, बैङ्किङ क्षेत्र, सञ्चार क्षेत्र, सरकारी तथा गैरसरकारी क्षेत्र सबै पक्षले यथोचित पहल गर्नुपर्ने देखिन्छ ।
पैसा कमाउन भन्दा सोको सदुपयोग गर्नु र जीवनस्तर माथि उठाउनु अझ महत्वपूर्ण विषय हुन्छ । सजग वित्तीय कारोबार, पैसाको सदुपयोगिता र जीवनस्तर अभिवृद्धि वित्तीय साक्षरताको मुख्य विषय क्षेत्र हो । यसका साथै विदेशी विनिमय, गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार, अनलाइन ठगी, विप्रेषण पठाउन कानुनी माध्यमको प्रयोगसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताले दिने गर्दछ । विगत केही वर्षदेखि नेपालीको मौद्रिक आय बढेको छ । खासगरी विप्रेषण आयका कारण नेपालमा गरिबी घटेको पनि देखिएको छ । सो गरिबी न्यूनीकरणलाई स्थायी बनाउन आयआर्जनलाई दिगो आम्दानीमा परिणत गर्ने तथा सो आयलाई विवेकशील किसिमले खर्च गर्ने ज्ञान अभिवृद्धि गरेमा नेपालको विकासका लागि आधार बन्न सक्छ । मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकास एवं डिजिटल नेपालको अवधारणालाई साकार पार्न विशेष गरी किशोर, विद्यार्थी, युवा, वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा स्वरोजगार बन्न चाहनेहरूमा वित्तीय जागरण अति आवश्यक रहेको कुरामा दुई मत हुन सक्तैन ।