• ५ कात्तिक २०८१, सोमबार

गोरखापत्र अब ४४ भाषामा

सञ्चारमन्त्री गुरुङद्वारा रानाथारु भाषापृष्ठ लोकार्पित

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रानाथारु भाषा पृष्ठको लोकार्पण गर्नुहुँदै । साथमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक ४ गते । गोरखापत्र दैनिकमा प्रकाशित बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ अन्तर्गत रानाथारु भाषापृष्ठको लोकार्पण गरिएको छ । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार धर्मपथस्थित संस्थान कार्यकक्षमा आयोजित कार्यक्रममा सो भाषापृष्ठको लोकार्पण गर्नुभएको हो ।

रानाथारु भाषाको प्रकाशनसँगै गोरखापत्रमा अब ४४ भाषाका सामग्री पढ्न सकिने भएको छ । दैनिकमा प्रकाशित सबै भाषाका पीडिएफ कपी गोरखापत्र अनलाइनमा हेर्न र पढ्न सकिन्छ । गोरखापत्रमा बहुभाषिक ‘नयाँ नेपाल’ पृष्ठ २०६४ असोज १ गतेबाट प्रकाशन सुरुभएको थियो । 

गोरखापत्र  संस्थान व्यवस्थापनको २०८१ भदौ ३१ गतेको निर्णयअनुसार २०८१ असोज २२ गते मंगलबार सो भाषाको पहिलो अङ्क प्रकाशन भएको थियो । लोकार्पणपछि कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण छ, यसले सम्बन्धित भाषा बोल्नेहरूको साहित्य क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।


उहाँले संस्थानका प्रकाशनहरूलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जोड दिँदै गोरखापत्रको डिजिटल प्रकाशनलाई प्रभावकारी बनाउन संस्थान पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । साथै उहाँले गोरखापत्र संस्थानको विनियमावलीलाई टुङ्ग्याएर लामो समयदेखि रोकिएको कर्मचारीको वृत्ति विकासलाई अघि बढाउनुपर्छ भन्नुभयो । 

गोरखापत्रलाई समयसापेक्ष बनाउन यसको ऐन परिमार्जनको खाँचो रहेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “संस्थान ऐन २०१९ अनुसार गोरखापत्र संस्थान चलिरहेको छ, यो निकै परम्परागत ऐन छ, यसलाई परिमार्जन गर्नुपर्छ । संस्थानबाट ऐनका विषयमा आवश्यक सुझाव आवस् त्यसलाई टेकेर हामी नयाँ ऐनको मस्यौदा अघि बढाउँछौँ ।”

गोरखापत्र दैनिकको अन्तर्राष्ट्रिय, विचार, राजनीतिकसहित अन्य विषयलाई समयसापेक्ष गुणस्तरीय बनाउन उहाँले निर्देशन दिनुभयो । संस्थानका प्रकाशनहरूले सरकारको प्रतिनिधित्व गर्ने हुनाले सन्तुलित, विश्वसनीय र गुणस्तरीय बनाउन  मन्त्री गुरुङले जोड दिनुभयो ।  

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ गोरखापत्रको गौरव भएको बताउनुभयो । संस्थानका प्रकाशनले भाषा, साहित्य र समावेशिताको क्षेत्रमा उल्लेखनीय काम गरी जनतालाई सरकारसँग जोड्ने काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । 

कार्यकारी अध्यक्ष सुवेदीले यी भाषाको प्रकाशनबाट नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग गरेको बताउनुभयो । सञ्चारमन्त्री गुरुङले दिनुभएको सुझावलाई गम्भीरतापूर्वक ग्रहण गरी परिमार्जनमा ध्यान दिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । 


गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानले भाषा पृष्ठ प्रकाशनका लागि स्पष्ट मापदण्ड बनाएर भाषापृष्ठहरु थप्नेकाम गरिरहेको बताउनुभयो ।  गोरखापत्र अनलाइनमा ‘सांसदलाई सवाल’, संस्थानका कर्मचारी, पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि ‘गर्दै सिक्दै’ कार्यक्रम, गोरखापत्रका प्रकाशनलाई अर्काइभिङ गर्ने काम पनि अन्तिम चरणमा पुगेको महाप्रबन्धक ऐरीले जानकारी दिनुभयो । 

उहाँले संस्थानको विनियमावली अर्थ मन्त्रालयमा रहेकाले त्यसलाई चाँडै ल्याउन सकेमा कर्मचारीको वृत्ति विकासमा पनि सहयोग पुग्ने भएकाले मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा नयाँ नेपाल विभागका प्रमुख विवेकानन्द मिश्रले गोरखापत्रमा प्रकाशन हुँदैआएका भाषापृष्ठको बारेमा जानकारी गराउनुभएको थियो । 


सो अवसरमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, निमित्त नायव महाप्रबन्धक यमप्रसाद कँडेल, सञ्चालक समिति सदस्य तथा अर्थविभाग प्रमुख राजुकुमार महत, गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक नारदमुनि गौतम, सूचना विभाग प्रमुख रेखा श्रेष्ठसहित संस्थानका विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो । 


सञ्चारमन्त्री गुरुङ गोरखापत्र संस्थानमा आउँदा कार्यकारी अध्यक्ष, महाप्रबन्धक लगायतले स्वागत गर्नुभएको थियो । मन्त्रीको साथमा उहाँका मुख्य स्वकीय सचिव विक्रमप्रसाद न्यौपाने र निजी सचिव सुरथ पोखरेलको समेत सहभागिता थियो ।