ठुलो मानिसको सङ्गत गरौँ भनेर हिँडेको महिनौँ भइसक्यो तर गर्न सकिएको छैन । ठुलो मानिसको खडेरी लागेको हो कि आफूलाई ठुलो मानिसले सङ्गत गर्नलायक नसम्झिएको हो बुझ्न सकिएको छैन । कतै ठुलो मानिसको परिभाषै पो मैले बुझ्न नसकेको हो, आफू अहिले द्विविधामा परेको महसुस भइरहेको छ । ठुलो मानिस भन्नेबित्तिकै आफूलाई त खल्ती भरेको, गाडी चढेको, पेट फुलेको, देश डुलेको, मन्त्री चिनेको अनि कुर्सी किनेको मानिसजस्तो लाग्थ्यो । तर त्यति मात्र होइन रहेछ । ठुलो मानिस हुनलाई त ठुलो ओहोदामा पुगेको, लिने दिने बुझेको, सानातिनालाई ठोकेको अनि नेताको झोला बोकेको पनि हुनुपर्ने रहेछ । अब आफू परियो कुनै पनि कुराको अनुभव नभएको, अनि कसरी ठुलो मानिसको सङ्गत पाउनु ।
सङ्गत गर्न आफू पनि समान हुनुपर्ने कुरा गर्छन् बुद्धिजीवीहरू । यस्तो उच्च विचार राख्ने, समाज बुझेका बुद्धिजीवीहरूसँगै सङ्गत गरौँ न त भनेर नठानेको होइन मैले कुनै बेला । तर त्यहाँ पनि कुरो मिलेन । बुद्धिजीवीहरूलाई सङ्गत गर्न बुद्धिजीवीहरू नै चाहिने तर आफू परियो टाउकोमा गिद्दीको सट्टा हावा भरेको मानिस ।
आफ्नो हावा भरेको भकुन्डोजस्तो टाउको भएकाले गर्दा होला साथीहरू ज्ञानी सन्तहरूको सङ्गतमा ‘गिद्दी फस्टाउँछ’ भन्दै तिनै ज्ञानीहरूको सङ्गतमा लाग्ने सल्लाह दिन्छन् । ज्ञानीहरूलाई खोज्दै हिँड्दा एकथरी गल्लीहरूमा खरानी घसेर गाँजा फुक्दै गरेका भेटिन्छन् भने अर्काथरी मानिसको भिड बटुलेर आफ्नो भाषणमा ईश्वरको चर्तिकला वर्णन गरिरहेका भेटिन्छन् । कुन ज्ञानी हुन् पत्ता लगाउनै गाह्रो, सङ्गत कसरी गर्नु ? ज्ञानीहरूको सङ्गतै सत्सङ्ग हो भन्ने मेरो बुझाइ सिर्फ बुझाइमै सीमित भइदिन पुग्छ त्यतिखेर ।
ठुलो मानिसको सङ्गत खोजेर हिँडेको म, ज्ञानीका रूपमा फुस्रेहरूको जत्था भेट्दा आफ्नो भकुन्डे टाउकोबाट फुस्स हावा फुस्किएर कुनै पनि सङ्गत गर्नलायकको पाउँदिनँ आफैँलाई । साथीहरूसँग बिलौना पोख्दा उनीहरूको फरक फरक राय आउँछ । भट्टीमा अल्झिएकाहरू टट्टीमा सङ्गतको कुरा गर्छन् भने गँजेडीहरूको सङ्गत धुवाँको मुस्लोमा उडेर हराउँछ । चार टाउको मिल्नासाथ ५२ पत्ती फिट्दा गाढा हुने सङ्गतको फलमा, दुई पेग लगाएर च्यान्टीको तिघ्रा सुम्सुम्याउँदा अझ निखार आउने कुरा गर्छन् एकथरी । आफू बुझ्दिनँ ।
नबुझ्ने गोज्याङ्ग्रो भएकोमा दुःख मनाउ गरिरहेको मलाई सम्झाउन आउने गोज्याङ्ग्रे बथानमा कोही सङ्गत गर्नलायकको छ कि भनेर टटोल्छु कहिलेकाहीँ । सङ्गत गुनाको फल भन्दै कोही सडकमा उफ्रने कुरा गर्छन् त कोही सदनमा कुर्सी भाँच्ने कुरा गर्छन् । कोही पार्टीको झन्डा बोक्ने कुरा गर्छन् अनि कोही नेताको झोला बोक्ने कुरा गर्छन् । त्यतातिर पनि मैले सङ्गत कसैसँग हुने छाँटकाँट देख्दिनँ ।
सङ्गतरहित निराश रहेको मलाई श्रीमती सल्लाह दिन्छिन्, “व्यापारीसँग सङ्गत गर्नुपर्ने ।” भिखारी र व्यापारीको पनि सङ्गत होला त ! म घोत्लन्छु, सम्झन्छु श्रीकृष्ण र सुदामाको सङ्गतका उदाहरणहरू । तर उदाहरणजस्तो व्यापारी कोही भेट्दिनँ अहिले । कोही देशै किन्ने धुनमा छन् त कोही नेता र मन्त्रीलाई आफ्नो गोजीमा राखेर हिँडेको कुरा गर्छन् । अब त्यस्ता महान् व्यापारीसँग आफूजस्तो प्वाल परेको खल्तीवालको सङ्गत कसरी सम्भव हुनु । प्रायः म असमन्जसमा पर्छु ।
स्वदेशीभन्दा विदेशी व्यापारीसँग सङ्गत सम्भव हुन्छ कि भनेर दायाँबायाँ र उत्तर, दक्षिण नाच हारेको हैन मैले पनि । उत्तरतिर लाग्दा दक्षिणतिरको रिसाउँछ, अनि दक्षिणतिर लाग्दा उत्तरतिरको रिसाउँछ । उत्तर र दक्षिणको खिचातानीमा मेरो सङ्गत गर्ने धोको सिर्फ धोकोमै सीमित भइदिन पुग्छ । अनि सङ्गत गरेर आफू पनि ठुलो हुने पिरलोको कथा फेरि दोहोरिन्छ । के गर्नु ! दिउँसो १०–५ बजेको सरकारी जागिरेसँग सङ्गत गरेर इमानदारी तेस्र्याउन सक्यो भने ठुलो मानिस भइन्छ कि भनेर त्यतातिर सङ्गत गर्ने विचार पनि आएको थियो कहिलेकाहीँ । तर इमानदारी बेच्न पल्केकाहरू कोही पनि सङ्गत गर्न अगाडि सर्दैनन् । किन हो कुन्नि ! जसलाई इमानदारी बेच्न आउँदैन उनीहरूलाई खाडी जानकै हतारो छ, मसँग सङ्गत गर्ने फुर्सद कहाँ पाउनु । अनि आफू सङ्गतबिना बुच्चाको बुच्चै ।
यो ठुलो मानिसको सङ्गत गर्ने धुनले मेरो दिनको चैन र रातको निद्रा खलबल्याएर हैरान पारिसक्यो । निद्रा परिहाल्यो भने पनि सपनामा उही सङ्गतकै सङ्गीत बज्न थाल्छ अनि आकाशवाणी भएझैँ आवाज ठोक्किन आइपुग्छन् कानको जालीमा । ‘सङ्गत त मन्त्रीको राम्रो, ‘सङ्गत त नेताको राम्रो’, ‘सङ्गत त व्यापारीको राम्रो’, ‘सङ्गत त जागिरेको राम्रो’, ‘सङ्गत त डाक्टरको राम्रो’, ‘सङ्गत त प्रहरीको राम्रो’, ‘सङ्गत त सिपाहीको राम्रो’, ‘सङ्गत त कलाकारको राम्रो’, ‘सङ्गत त पत्रकारको राम्रो’, ‘सङ्गत त कथाकारको राम्रो’ । झल्याँस्स भएर ब्युँझिन्छु म, कानको जाली फुट्लाझैँ हुन्छ, टाउको भन्भनाउँछ, रिङ्गटाले खुट्टो लगलगाउँछ अनि सङ्गतको भूत भकुन्डे टाउकोको हावा फुस्स भएजस्तै फुर्र उडेर बिलाउँछ ।
फुस्स भएको टाउकोमा हावा भर्न पम्फु खोज्दै हिँड्दा पुरानो शिक्षक फेला पर्नुहुन्छ । स्कुले जीवनमा निकै प्रयत्न गर्नुभएको थियो उहाँले मेरो टाउकोमा गुदी भर्न । त्यो क्रममा उहाँले आफ्नो गिद्दी धेरै पकाउनुभयो, उमाल्नुभयो, छड्काउनुभयो तर केही सिप लागेन, मेरो टाउकोभित्र हावाको हावै । अचानक उहाँलाई भेट्दा अतीतका दिनहरू याद आएको थियो त्यतिखेर । उहाँसँगै सङ्गत गरेर ठुलो मानिस बन्ने सोच पलाउन थालेको थियो । शिक्षकजस्तो ठुलो मानिस अरू को होलान् र । तर भेटमा उहाँले भन्नुभएको थियो, “शिक्षकहरूले पाठ्यपुस्तकको झोला नबोकेर नेताहरूको झोला बोक्न थालेका छन् ।” त्यो सुनेपछि बोक्नेको सङ्गत गर्नु कि बोकाउनेको सङ्गत गर्नु द्विविधामा परेको थिएँ म । “तपार्इंले त बोक्नुभएको छैन नि ?” मेरो प्रश्नको उत्तरमा उहाँले भन्नुभएको थियो, “कहाँ बोक्छु भन्दैमा बोक्न पाइने हो र ! बाबु, त्यो झोला बोक्न पनि नेताहरूको आसेपासेको गतिलो सङ्गत हुनु पर्छ ।”
वाह ! मैले आखिरकार सङ्गत गर्ने जमात फेला पारेँ, नेताका आसेपासेहरू । उनीहरूको सङ्गतमा म पनि नेताको सङ्गत नजिक पुग्न सक्छु । अनि साँच्चै बन्छु, ठुलो मानिस । म ठुलो मानिस बनेपछि मसँग सङ्गत गर्नेहरूको घुइँचो लाग्ने छ । त्यो घुइँचोमा बेलाबेलामा सपनाको आकाशवाणीमा घन्कने सबै प्रकारका जमात सामेल हुने छन् । आखिर सबैलाई सङ्गतको रोगले समातेकै छ । अनि बल्ल मेरो ठुलो मानिसको सङ्गतमा आफू ठुलो बन्ने इच्छा पूर्ण हुने छ । अस्तु ।