सामान्यतया देवीदेवताका मठमन्दिरमा जाने भक्तजनले आफ्नो साथमा फूल, अछेता, धुपबत्ती एवं अन्य भेटी भगवान्लाई अर्पित गरेको देखिन्छ । भगवान्लाई खुसी पार्न भन्दै भक्तजनले विभिन्न थरिका प्रसादसमेत चढाउने गर्छन् । यसरी चढाउने प्रसाद पनि भगवान्पिच्छे फरक फरक हुने गरेका छन् । यतिमात्र नभई, मन्दिर र ठाउँ अनुसार समेत एउटै भगवान्लाई चढाइने प्रसाद अलग अलग देखिन्छन् । यस्तै अलग पहिचान बोकेको मन्दिरमध्ये पाल्पा जिल्लामा अवस्थित भैरवस्थान मन्दिरसमेत पर्ने गरेको छ । स्थानीयवासीमाझ भैरवथानका नामले परिचित पाल्पाको भैरवस्थान मन्दिर अन्य भैरव मन्दिरभन्दा पृथक् र अद्वितीय देखिन्छ ।
नेपालका अधिकांश ठाउँ मन्दिरै मन्दिरले भरिएका छन् । यस्तै ठाउँमा पहाडकी सुन्दरी नामले परिचित पाल्पा जिल्ला पनि पर्छ । यस जिल्लामा ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले सयौँ मन्दिर अवस्थित छन् । यस जिल्लाको सदरमुकाम तानसेनबाट दुई कोस अर्थात् करिब नौ किलोमिटर पश्चिम रिब्दीकोट गाउँपालिकामा पर्ने पहाडको टुप्पोमा अवस्थित भैरवनाथको मन्दिर प्रख्यात छ । विक्रम संवत् १४६५ मा पाल्पाका राजा मुकुन्द सेनले यस मन्दिरको निर्माण गरेको भनाइ छ । राजालाई एक दिन सपनामा हाल मन्दिर रहेको स्थानको पूर्वपट्टि मन्दिरको स्थापना गरी बटुकभैरव र कालभैरवको स्थापना गर्नू गराउनू भन्ने आकाशवाणी भए अनुसार राजाले यस मन्दिरको निर्माण गरेको किंवदन्ती छ । त्यस समयमा श्री भैरवनाथको नित्य पूजा, दैनिक, रात्रिकालीन शृङ्गार पूजा आदि ऋषिकेशको कालीगण्डकीबाट नियमित रूपमा जल ल्याई अर्पण गर्ने काम जयमुनि ऋषिले गर्थे । सो क्रममा जयमुनि ऋषिबाट प्रसन्न भई ऋषिलाई रातिमा जल ल्याउन दुःख नहोस् भनी स्वयम् गङ्गाजी मन्दिरको पूर्वपट्टि बाटोमुनि उत्पत्ति भएको किंवदन्ती छ । जुन स्थानलाई अहिले जयधारा भनिन्छ । सोही जल लगेर मन्दिरको नित्य पूजा र विसर्जन पूजा गर्ने गरिन्छ । यस मन्दिरमा रहेको अखण्ड धुनीमा रहेको अखण्ड ज्योति स्थापनाकालदेखि बलिरहेको छ । उक्त धुनीमा रहेको विभूति लगाएमा रोगव्याधि सन्चो हुने विश्वास छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो मन्दिरमा बर्सेनि लाखौँ भक्तजनले पूजाआजा गर्ने गर्छन् । विशेष गरी धार्मिक आस्था बोकेको भैरव मन्दिर दर्शन र भाकलका लागि नेपालका अधिकांश जिल्लाबाट दर्शनार्थी यहाँ आउने गर्छन् । नेपालबाट मात्र नभई भारतबाट समेत बर्सेनि हजारौँ भक्तजन यहाँ आउने गरेको बताइन्छ । मनोकाङ्क्षा पूरा हुनु भैरवनाथ मन्दिरको एक प्रमुख विशेषताका रूपमा लिने गरिन्छ । यहाँ रीतपूर्वक पूजापाठ गरी भैरवको दर्शन गरेको खण्डमा सबै मनोकाङ्क्षा पूरा हुने विश्वास छ । यसै गरी एक पटक मन्दिरको दर्शन गरेमा सबै पाप पखालिने धार्मिक विश्वास पनि छ ।
भैरवनाथको मन्दिरमा नियमित हुने पूजापाठबाहेक भाकल पूजा, पञ्चबलि पूजा, क्षमापूजा पनि गर्ने गरिन्छ । कुखुरा, बोका, पाडो हाँसको बलि दिएर पञ्चेबाजासहित पञ्चबलि दिने प्रचलन छ । नयाँ बाली भित्र्याएपछि कोदो र मकैबाहेक अन्य सबै अन्नको पिठोबाट बनेको रोट चढाउने प्रचलन पनि छ । भैरवस्थानमा विभिन्न रूपका छुट्टाछुट्टै मनमोहक मन्दिर पनि छन् । यहाँ भैरव बाबाको विशेष पूजा गरिन्छ । भैरवको मूर्ति भु्इँतलामा छ । कालो र डर लाग्ने भएकाले भैरवको मूर्ति सर्वसाधारणले हेर्न नहुने मान्यता छ । मन्दिरका पुजारीले समेत मूर्ति नहेरी पूजा गर्ने गरेको बताइन्छ । मन्दिरमा भगवतीमाईको मूर्तिसमेत स्थापना गरिएको छ । शक्तिसम्पन्न पीठ भएकाले यहाँ ठुलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् । शिवरात्रि, बडादसैँ, एकादशी, मङ्सिर र वैशाखको प्रत्येक शनिबार तथा विशेष तिथिका दिन यहाँ दर्शनार्थीको भिड लाग्ने गर्छ । आफ्नो मनोकामना पूरा गर्न भन्दै श्रद्धालु एवं भक्तजनले यो मन्दिरमा चढाउने प्रसादका रूपमा ‘रोट’ प्रख्यात छ ।
रोट एकप्रकारको खाद्य परिकार हो । चामल, मकै, गहुँ, जौ, कोदो, फापर, मास, भटमास, मुङजस्ता अन्नादिको पिठोबाट बनेका गोला, चेप्टा, लाम्चा, डल्ला, चाक्लाजस्ता विभिन्न आकारप्रकार र स्वरूपका रोटीजन्य पाकवानलाई रोट अन्तर्गत राख्ने गरिन्छ । भैरवनाथको मन्दिरमा चामलको पिठोबाट बनाइएको विशेषप्रकारको रोटीजन्य पाकवानलाई ‘रोट’ भन्ने गरिन्छ । मन्दिरमा एक माना र एक पाथीका रोट चढाउने चलन छ । चामलको पिठोमा चिनी, किसमिस, काटेको नरिवल, छोकडा, ल्वाङ, सुकमेल मिसाएर परम्परागत दाउराको चुलोमा तावामा राखेर रोट पकाइन्छ । पहिले–पहिले दर्शनार्थीले घरबाटै रोट बनाएर पूजा गर्न मन्दिर पुग्थे भने अहिले मन्दिर परिसरमै रोट पाउने सुविधा छ । बिहान सबेरै उठेर चामलको पिठोमा घिउ, चिनी र नरिवल मोल्ने अनि रातो माटोले पोतेर चिटिक्क पारेको चुलोमा लस्करै राखिएका पाँच/छ वटा तावामा रोट पकाउनु यहाँका व्यापारीको दैनिकी बनेको छ । मन्दिरआसपासमा रोट पकाउने र बेच्ने काममा २० परिवारभन्दा बढी संलग्न छन् । मन्दिर व्यवस्थापन समितिले व्यापारी र ग्राहकमा एकरूपता ल्याउन रोटको मूल्य तोकिदिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यो मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीले कालभैरव, बटुकभैरव र भगवतीमाईलाई बेग्लाबेग्लै एक एक वटा रोट चढाउने गर्छन् । रोट चढाएर भैरवको पूजा गरेमा काम पूरा हुने, सोचेको कुरा पुग्ने विश्वास गरिन्छ । यसै गरी आफ्नो भाकल पूरा भएपछि समेत मानिसले यहाँ रोट चढाउने प्रचलन छ । मन्दिरमा प्रसादका रूपमा चढाइने ‘रोट’ अन्य सामान्य तरिकाले पकाएका रोटीभन्दा आकार एवं स्वादका दृष्टिकोणले फरक हुने गर्छ । एक माना र एक पाथी चामलबाट बनेका यी रोटहरू ठुला एवं मोटा हुन्छन् । परम्परागत आगोको चुलोमा तावामा राखेर पकाइने भएकाले रोट राम्रोसँग पाक्नुका साथै स्वादिलोसमेत हुने गर्छ । यी रोटहरू घरपरिवार र अन्यत्र बनाइने वा पाइनेभन्दा पृथक् विशेषता भएका हुन्छन् । रोट बनाउन प्रयोग गरिने सामग्री, विधि तथा प्रविधि नै फरक भएकाले त्यो भिन्नता देखिएको हो । विभिन्न मसला प्रयोग गरिने भएकाले यी रोट हेर्दासमेत सुन्दर र आकर्षक देखिन्छन् । मन्दिरमा चढाएर बाँकी रहेको प्रसाद छरछिमेक र आफन्तलाई बाँड्ने चलन छ ।
यो मन्दिर परिसरमा एसियाकै ठुलो मानिने त्रिशूल पनि छ । १६ औँ शताब्दीतिर खड्गशमशेर राणाले आफ्नी रानीको चाहना अनुसार मन्दिरभित्र सुनको जलप लगाइएको त्रिशूल बनाएको स्थानीयवासी बताउँछन् । ठुलो र आकर्षक त्रिशूलले मन्दिरको सुन्दरतालाई थप उचाइमा पु¥याएको छ । यस भैरवनाथ मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटर उचाइमा पर्छ । पहाडको टापुमा रहेकाले मन्दिर परिसरबाट हिमालका सुन्दर दृश्य सजिलै देख्न सकिन्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छ«े, धौलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । यस मन्दिर परिसरमा रोट चढाउनेका साथै दर्शनार्थीलाई खाने बस्नेको समेत सुविधा रहेको जनाइएको छ । यसैकारण धार्मिक, ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेका कारण यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । वार्षिक करिब ५० लाखभन्दा बढी दर्शनार्थी यस मन्दिरमा भित्रिने गरेको तथ्याङ्क छ । यसले गर्दा स्थानीयको व्यापार व्यवसाय विस्तार हुनुका साथै प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजगारीका अवसरसमेत सिर्जना भएको छ ।