बिसौँ शताब्दीको साहित्यिक समालोचनालाई फर्केर हेर्दा यो निकै विविधतापूर्ण रहेको पाइन्छ । किनकि यही शताब्दीमा आधुनिकतावाद, उत्तरआधुनिकतावाद र अन्य महत्वपूर्ण आविष्कार, प्रयोग एवं विकास भएको देखिन्छ । यही शताब्दीमा अमेरिकी साहित्यले जबरजस्त आफ्नो उपस्थिति जनाइरहेको थियो । टिएस इलियटजस्ता समालोचकले परम्परा र आधुनिकताको बिचमा पुलको काम गरेका थिए भने उता ब्रिटिस साहित्यमा जर्ज बर्नाड शाजस्ता लेखकले महान् नाटकहरू लेखिरहेका थिए । यसै शताब्दीमा जेम्स जोइस र भर्जिनिया उल्फको चेतनाको प्रवाह (स्ट्रिम अफ कन्ससनेस) शैलीमा लेखिएका साहित्य आइरहेका थिए । ती साहित्यले समाजलाई फरक ढङ्गबाट मार्गनिर्देशन गरिरहेका थिए भने यस शताब्दीमा भएका दुई वटा विश्वयुद्धले साहित्य क्षेत्रलाई प्रभावित नबनाउने कुरै भएन । त्यसैले बिसौँ शताब्दीको साहित्य तथा समालोचना प्रयोग, शैली, भाषा, भाव र अर्थका हिसाबले निकै जटिल र विविध थियो भन्ने कुरा प्रस्ट छ ।
रानी भिक्टोरियाको मृत्यु (१९०१) पश्चात् आधुनिक युग सुरु भएको मानिन्छ । यतिबेलाका केही लेखक यस्ता थिए, जो भिक्टोरियनकालमा आफ्ना उत्कृष्ट रचना सिर्जना गरेर उनीहरू आधुनिककालमा पनि लेखिरहेका थिए । जस्तो कि विलियम बट्लर यिट्स, थोमस हार्डी, जोजेफ कोनराडजस्ता लेखकहरू दुवै कालको प्रतिनिधित्व गर्छन् । यी लेखकहरूलाई आधुनिकतावादी र ट्रान्जिसनल लेखक पनि भनिन्छ । किनकि यी लेखकहरूले भिक्टोरियनकालमा लेख्न सुरु गरेर प्रथम विश्वयुद्धपछि पनि लेखिरहेका थिए । उनीहरू यो अर्थमा आधुनिकतावादी थिए कि पछिल्लो समय उनीहरूले आफ्ना रचनामा केही नवीनतम शैली प्रयोग गरेका थिए । यिट्सका कविताले पुराण तथा इतिहासमार्फत पाठकको मन जितिरहेका थिए भने हार्डीका उपन्यास तथा कविताले विस्तृत चरित्र चित्रणमार्फत महाआख्यानको गरिमा बढाइरहेका थिए । त्यस्तै कोनराडले उपनिवेशिक विषयलाई सशक्त रूपमा उठाएका थिए ।
आखिर के थिए त ती घटना, जसले एउटा कालखण्डलाई अर्को कालखण्डबाट अलग गरायो ? जसलाई हामीले आधुनिकतावाद भनेर मान्छौँ, त्यो कसरी सुरु भयो ? यो कसरी अघिल्लो परम्परावादी भिक्टोरियन युगभन्दा फरक थियो त भन्दा त्यसलाई केही तत्व वा घटनाले अगल गराएका थिए । ती घटनामध्ये सबैभन्दा महत्वपूर्ण घटना थियो, बिसौँ शताब्दीको सुरुवातमा समाजवादी र पुँजीवादीबिचमा भएको प्रथम विश्वयुद्ध, जसले संसारलाई ठुलो आर्थिक डिप्रेसनमा धकलेको थियो । त्यस्तै अर्काे ठुलो घटना सन् १९०० मा सिग्मन्ड फ्रायडरचित ‘सपनाहरूको व्याख्या’ (इन्टरप्रिटेसन अफ ड्रिम्स) भन्ने पुस्तकको प्रकाशन थियो, जसले मानिसको मनोविज्ञानलाई प्रभाव पारेको थियो । त्यतिबेला विश्वयुद्धले मानिसको परम्परागत आस्थालाई खल्बलाइदिएको थियो भने विज्ञान तथा प्रविधिको हस्तक्षेपकारी प्रवेशले सोचाइका तरिका बदलिएका थिए । यी सोचाइका तरिकालाई फ्रायडका ‘सपनासम्बन्धी सिद्धान्त’ डगमगाइदिएका थिए ।
त्योभन्दा पनि महत्वपूर्ण घटना जसले पूरै संसारको साहित्य चेतनालाई जुरुक्कै उचाल्न सफल भए । सन् १९२२ मा प्रकाशित तीन कृति : टिएस इलियटको ‘द बेस्ट ल्यान्ड’ भन्ने कविता, जेम्स जोइसको ‘युलिसस’ र भर्जिनिया उल्फको ‘द ज्याकोब्स रुम’ । यी उल्लिखित कृतिको प्रभाव समाजमा निकै व्यापक थियो । यी कृति तथा लेखक हुँदैनथे भने आधुनिकतावादको सुरुवात त्यतिबेला हुने थिएन । जेम्स जोइस, टिएस इलियट, भर्जिनिया उल्फजस्ता यी लेखकका लेखाइले आधुनिक लेखन कस्तो हुन्छ भन्ने कुरा स्थापित गरिदिएका थिए । उल्फ र जोइसले चेतनाको बन्धनबाट दिमाग कसरी घुम्छ भन्ने कुरा आफ्नो लेखमा देखाइदिए । इलियटले पनि प्रथम विश्वयुद्धपछिको आर्थिक डिप्रेसन, नैराश्यलाई अक्रमबद्ध शैलीमा उजागर गरेका छन् । यी लेखहरूले पाठकको रुचिलाई बेवास्ता गरी आआफ्नै तरिकाले स्वच्छन्द साहित्यिक परीक्षण गरेका थिए ।
इलियटको ‘द बेस्ट ल्यान्ड’ एक काव्यिक रचना थियो, जसमा विखण्डन, अव्यवस्था, सभ्यतागत क्रमहीनता तथा कवि स्वयम्लाई पर्न सक्ने पक्षघात र उनको आत्मभयको चर्चा गरिएको छ । इलियट यस्ता सर्जक थिए कि जसले स्वतन्त्रतापूर्वक जुनसुकै स्थापित नियमलाई तोडेर पारम्परिक ज्ञानको विपरीत साहित्यिक रूपमा स्थायी कार्य गर्नका लागि एक साहित्यकारले छलाङ हान्नु पर्छ भन्ठान्थे । ‘द वेस्ट ल्यान्ड’ ले परम्परागत काव्यात्मक रूपहरूलाई चुनौती दिँदै पाठकलाई आधुनिक संसारको जटिल र बहुस्तर अन्वेषणमा संलग्न गराउँछ । त्यस्तै जेम्स जोयसको ‘युलिसस’ होमरको ‘ओडिसी’सँग तुलना गरिएको कृति हो । ट्रोजन वार सक्काएर घर फर्किएको ओडिसीको कथाजस्तो यो एक वासना, यौन तथा प्रेमको कथा हो, जसमा मुख्य पात्र बेश्यालयमा उपस्थित हुन्छन्, व्यभिचारी क्रियाकलाप, हस्तमैथुनजस्ता सामाजिक रूपमा निन्दनीय कार्यमा संलग्न हुन्छन् । तर पनि उपन्यासले प्रस्तुत गरेको कामुक कार्यलाई हामीले कृतिको मुख्य सन्देशभन्दा पनि आधुनिक साहित्यमा सहरी जीवनको विविध विशेषताको ढाँचा वा नयाँ प्रयोग भनेर बुझ्नु पर्छ । जोइसका नायकहरू उनीहरूको व्यक्तिगत नियन्त्रणबाहिरका घटना तथा परिस्थितिसँग जुध्न बाध्य हुन्छन् । यो आधुनिक लेखनीको एक प्रयोग वा विशेषता हो ।
भर्जिनिया उल्फको ‘ज्याकोब्स रुम’ पनि चेतनाको प्रवाह अर्थात् ‘स्ट्रिम अफ कन्ससनेस’ शैलीमा लेखिएको एक प्रभावशाली कृति हो । मुख्य पात्र ‘ज्याकब फ्लान्डेएर्स’ को जीवनीवरिपरि घुमेको यो उपन्यासले उसलाई ठोस वा वास्तविकभन्दा पनि सम्झना एवं संवेदनाहरूको सङ्ग्रहका रूपमा चित्रण गरिएको छ । एक्लोपना, शोकमग्नता, चिन्ताजस्ता तत्वले उपन्यासलाई ढाकेको छ । यसरी यी तीन कृतिले आधुनिक लेखनीलाई प्रभाव पारेका थिए । त्यस्तै टुक्रिएका र अक्रमबद्ध (ननलिनिएर) शैलीमा लेखिका एज्रा पाउन्डका कविताले पनि समालोचना क्षेत्रलाई प्रभाव पारेका थिए । योबाहेक बिसौँ शताब्दीमा पुराण तथा सिम्बोलको जागृतीकरण, एकाङ्कीपन, वास्ताविकतावादको इन्कारजस्ता क्षेत्रमा पनि लेखिएको पाइन्छ ।
बिसौँ शताब्दीको मध्यतिर भएको दोस्रो विश्वयुद्ध, उत्तरआधुनिकतावादको उदय, सांस्कृतिक, सामाजिक परिवर्तन, आमसञ्चारको प्रभाव, बौद्धिक अवरोहमा आएको परिवर्तनजस्ता कारणले आधुनिकीकरणको प्रभाव पातलिँदै गयो र दोस्रो विश्वयुद्धपछि साहित्यमा फेरि उत्तरआधुनिकतावादको बिस्तारै उदय हुँदै गयो । उत्तरआधुनिकतावादको सुरुवात दोस्रो विश्वयुद्धलगत्तै भएको ठानिए पनि १९६० को अन्त्यतिर आधुनिकतावादी महाआख्यानको विरोधस्वरूप आएकोमा समालोचकहरू सहमत छन् । आधुनिकतावादीले अनुसरण गरेको वस्तुगत तथ्य, अर्थ, प्रगति, उन्नति, सामन्जस्य तथा उच्च आदर्शको विपरीत समाज अब जटिल, विविध, विकेन्द्रित, सिङ्गो सत्यबाट टाढा तथा सापेक्षिततातर्फ गइरहेको किटानसाथ नवलेखकहरू जिन फ्रान्कोइ लियोटार्ड, मिसेल फुको, ज्याक डेरिडाजस्ता लेखकले आधुनिकतावादको प्रतिवाद गरेका थिए । उनीहरूको अभियानले कला, साहित्य, सङ्गीत तथा समग्र प्राज्ञिक क्षेत्रलाई नै हल्लाइदियो । फ्रेन्च दार्शनिक फुकोका ‘म्याडनेस एन्ड सिभिलाइजेसन’ (१९६१), ‘अर्डर अफ थिङ्स’ (१९६६) र ‘हिस्ट्री अफ सेक्सुयालिटी’ (१९७६) ले परम्परागत सोचको ढाँचालाई नै हल्लाइदिए । त्यस्तै रोला वाथको ‘लेखको मृत्यु’ (१९६८) ले वस्तुगत तथ्य तथा अर्थको परिभाषा बदली लेखक र पाठकबिचको सम्बन्धमा नयाँ चिन्तन ल्याइदियो । डेरिडाको ‘विनिर्माणवादी सिद्धान्त’ ले त झन् सत्यताका विविध खेल र सम्भावना उजागर गरिदियो ।
सन् १९६० को दशकमा राचेल कार्सनको ‘साइलेन्ट स्प्रिङ’ (१९६२) को प्रकाशनपश्चात् वातावरणीय समालोचना (इकोक्रिटिसिजम) को बिस्तारै उदय हुँदै थियो । पछि ७० र ८० को दशकमा फैलँदै १९९० को दशकमा साहित्य र वातावरणबिचको सम्बन्ध अध्ययन गर्ने निकै सशक्त विषय बन्यो । चेरिल ग्लोटफेल्टी, लरेन्स बुएल, ग्रेग ग्यारार्ड, जोनाथन बेट, भल प्लमउडजस्ता लेखक तथा समालोचकले यसलाई अगाडि बढाए । साहित्य समालोचनाको क्षेत्रमा यस्तो महìव दिनप्रतिदिन बढिरहेको छ । र, विश्वविद्यालयमा उलेख्य शोधार्थीको अध्यन तथा रुचिको क्षेत्र बनेको छ ।
झन्डै दुई दशकपछिको उन्माक्त फैलावटपछि उत्तरआधुनिकतावादको प्रभाव, यसले जीवनमा पारेका असरबारे पनि बहस, विवेचना त हुने नै भए । किनकि समालोचक, चिन्तक, साहित्यकारले यो महसुस गरिरहेका थिए कि उत्तरआधुनिकतावादले अनिश्चितता, वैराग्यता, एकाङ्कीपन, नैतिक सत्यमाथि विचलन ल्याएको थियो ।
स्वतन्त्रताले मात्तिएर समाज विचलित हुन थालेपछि फेरि अब लेखनी उत्तर उत्तरआधुनिकतावादतर्फ अगाडि बढ्यो । अब फेरि दुनियाँ हाइपर मडरनिजम (अतिआधुनिकतावाद) तर्फ लम्कन थालेको छ । यो बिर्सनुहुँदैन कि अब फेरि समालोचना त्यही पूर्वमहाआख्यानको पुरानो यात्रातर्फ भने पक्कै गइरहेको छैन । यो अब स्वतन्त्रता, न्याय, पहिचान, पुनर्निर्माण तथा समानताको खोजीतर्फ अघि बढिरहेको छ । यस्ता चीजको खोजीकार्यमा उत्तर उत्तरआधुनिककालले आविष्कार गरेका विज्ञान तथा प्रविधि अर्थात् कृत्रिम बुद्धिको सघन प्रयोग गरी वर्तमान सामाजिक, राजनीतिक, वातावरणीय, स्वास्थ्य, शिक्षा, आर्थिक समस्या, नवब्रह्माण्डीय खोजसँग जुध्न अबको साहित्य समालोचना आफ्नो जरा वा पृष्ठभूमिको खोजीतर्फ लाग्दै छ । जहाँ मानव कसैको सहयोगी ढाल, फगत मजदुर, वाहक वा सीमान्तकृत खम्बा बनेर अरूलाई शक्तिशाली बनाउन होइन, बरु आफ्नै औकात, सिप, बल पहिचान गरी आफैँ सशक्त र सक्षम हुने खोजीमा लागिरहेको छ ।