हरेक गाउँमा कुनै न कुनै विशेषता रहेको पाइन्छ । सामान्यतया त्यही विशेष अवस्थाले त्यस ठाउँको नामकरण भएको हुन्छ । नाउँ अरू नै भनिए पनि विशेष महत्त्वका कारणले त्यो स्थानको पहिचान निर्माण भएको हुन्छ । छुट्टै पहिचान सबै स्थानको हुँदैन । चर्चा, पहिचान त्यस ठाउँको हुन्छ, जसले आफूलाई अरूभन्दा भिन्न देखाउने गर्छ । कुनै ठाउँमा प्राकृतिक अनुपम उपहार हुन्छ भने कहीँ कुनै विशेष उत्पादन । कुनै ठाउँ मानवनिर्मित संरचनाले महत्व दर्शाएको हुन्छ । कुनै स्थानमा महान् व्यक्तित्वले वीरता, पराक्रम प्रदर्शन गरेको हुन्छ भने कुनै स्थान पौराणिक महत्वका पनि हुन्छन् । धेरै चर्चित ठाउँ राजारजौटाको दरबार, वीरता प्रदर्शन गरेका ठाउँका रूपमा रहेका हुन्छन् । सामान्यभन्दा फरक स्थानको छुट्टै परिचय बनेको हुन्छ । पौराणिक, ऐतिहासिक महत्वका स्थान पर्यटकीय र पुरातात्त्विक अन्वेषणका रूपमा रहेका हुन्छन् भने प्राकृतिक मनोरम स्थान मनोरञ्जनका लागि महत्वपूर्ण हुन्छन् ।
त्यस्तै ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको सभ्यता र संस्कृतिको विशिष्ट परिचयसहितका बाइस ओखल एकै ढुङ्गामा रहेको गाउँ थपलालाई मान्ने गरिन्छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–३ थपला दुर्गम गाउँ हो । जिल्ला सदरमुकामदेखि दक्षिण–पश्चिम सीमान्त बस्ती हो– थपला । तत्कालीन डोटी राज्यको रुपाल गर्खा अन्तर्गत रहेको गाउँलाई थपला ग्वान्नीका नामले चिनिन्थ्यो । विकट बस्ती भए पनि पुरानो, ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको स्थानका रूपमा रहेको थियो । काठमाडौँ उपत्यकामा रहेका उपमन्यु गोत्रीय पाण्डेय, बझाङका जोशी, स्याङ्जा र झापामा रहेका कौडिन्य गोत्रीय पनेरू, डडेलधुरा र सुर्खेतमा रहेका भारती, बैतडीका लेखक, डोटी, अछाम र बाजुराका मलस्या साउदहरूको मूल थलो थपला हो । डडेलधुराका विभिन्न स्थानमा स्थापित कैलपाल मन्दिरहरूको मूल पनि यही हो । मध्यकालीन डोटीको उद्गम स्थानका रूपमा लिइन्छ । महाकाली नदीमा रहेको बामघाट नाकाको अति नै नजिकको सुरक्षित बस्ती पनि हो । हालको बस्ती विकासमा पूर्ण रूपमा चम्पावतस्थित विभिन्न गाउँ समग्र रूपमा कुमाउ जनजीवनको प्रभाव रहेको छ । चम्पावतको सिमल्टा, वनलेक, चौकीका पाण्डेय र त्यही आसपासका अन्य थरका बासिन्दाको बसोबास रहेको छ । आर्यहरूको बस्ती पूर्वजाटहरूको बस्ती थियो । जाटलाई युद्धमा पराजित गरी पालहरूको राज्य स्थापित भएको थियो । राजा जगती पालले सुदर्शन पाण्डेयलाई रुपाल गर्खामा विर्ता प्रदान गरेको ताम्रपत्रमा थपलाको उल्लेख छ । यो गाउँ नजिकै राजाको चायकोट, श्रीकोट, खुदाकोट, लुलकोटजस्ता दरबारहरू रहेका छन् । दरबारहरूको उत्खनन हुन जरुरी छ । पालहरूले शासन सञ्चालनपूर्व पनि समृद्ध बस्ती थियो भन्ने त्यसबेला पुरातात्त्विक महत्तवका संरचनाले बताउँछ ।
भारत वर्षका विभिन्न स्थानबाट काली नदीवारि भित्रिएको संस्कृतिमा मौलिकपन थपलाबाट विकास भएको पाइन्छ । डोटी क्षेत्रको चर्चित रुपाली होलीको चीर थपलामै गाडिन्छ र यहीँबाट होली खेलका रूपमा विकसित भएको पाइन्छ । थपलालाई तत्कालीन डोटी राज्यको महत्वपूर्ण स्थान पनि मानिन्छ । बसाइँसराइका क्रममा महाकालीपारिबाट वारि बस्दा बामघाट तरेको पाइन्छ । बैतडी जुलाघाटपछिको महìवपूर्ण नाका बामघाट हो । बामघाट तरेर बनेको पहिलो सुरक्षित बस्ती थपला हो । मध्यकालीन डोटीका मल्ल राजाको मुख्य ठाउँ मानिन्छ । मल्लहरूको शासनपूर्व पाल वंशको शासन थियो । जाट, पाल, मल्लहरूले यही भूमिबाट शक्तिको विस्तार गरी विशाल डोटी राज्य निर्माण गरेका थिए । पाल वंशपूर्व जाटहरूको राज्य रहेको पाइन्छ । जाटले निकै लामो समय शासन गरेकाले जडान क्षेत्र भनिएको हो । जाटहरूको कुनै समय विशाल राज्य रहेको र क्रमिक रूपमा टुक्रिएर स–साना राज्यमा विभक्त भएको थियो । भारत वर्षका विभिन्न स्थानमा अहिले पनि जाट छन् । एकत्रित जाट राज्यमा र विभाजित राज्य हुँदा पनि निकै महत्वका संरचना निर्माण भएका पाइन्छन् । जाटहरू निकै बलिया थिए । बलिया, शक्तिशाली भएकाले भौतिक संरचना निर्माण गर्दा ठुलठुला र बलिया ढुङ्गा प्रयोग गरेको पाइन्छ । जुन संरचना हजारौँ वर्ष बित्दा पनि अवशेषका रूपमा रहेका छन् ।
तराईतिर औलोको निकै डर हुन्थ्यो । मैदानी भागमा खेती गरे पनि अग्लो हावा चल्ने ठाउँमा बस्न जान्थे । थपलाको बसाई शीर्षको खेती भन्ने उखान पनि छ । जोगबुडा, परिगाउँ, शीर्षका फाँटमा हंशराज, बासमती धान फलाउने र थपलामा कुट्ने गर्थे । थपलाको बाइस ओखलमा धान कुटेर भोटमा रहेकी प्रेमिकालाई जाटको राजकुमारले बासमती चामल, जौल्याधानका खाजा पु¥याउने गर्थे भनिन्छ । बाइस थरी जाट रहेकाले हरेकले छुट्टाछुट्टै ओखल प्रयोग गर्थे । ढुङ्गाको बिचमा रहेको ओखलमा जाटका राजा पणवारका लागि बासमती हंशराज कुटिन्थ्यो । जौल्याधानका सिरौला, खज्याधानका खाजा, मकैका पतौला बनाउन मकै छुट्टाछुट्टै ओखलमा कुटिन्थे । त्यसको अन्य कसैले प्रयोग गरे दण्डित गरिन्थ्यो । थपलालाई बाइस ओखलको गाउँ भनेर चिनिने र डोटी राज्यको अन्तिम बस्ती भनिन्थ्यो । त्योभन्दा तल तराई रहेकाले ‘नङमाथि मासु नाईं, थपलाभन्दा तल गाउँ नाईं’ भन्ने उखान पनि थियो ।
त्यस समयमा तराईमा बस्ती थिएन । असोजदेखि फागुनसम्म तराई बसे पनि बस्ती विकास भएको थिएन । त्यस्तै चुरेका थुम्कामा उडम बनाइएका हुन्थे । बस्ती पहाडतिरै हुन्थे । डोटी क्षेत्र कुनै समय स–साना राज्यमा टुक्रिएको थियो भने कुनै समय विशाल फैलिएको पाइन्छ । पाल वंशको शासन कुमाउको अस्कोटदेखि कर्णाली र तराईको भू–भागसम्म फैलिएको थियो । त्यस्तै मल्ल राजाको राज्य पनि कर्णाली सुदूरपश्चिम र कुमाउसम्म रहेको पाइन्छ । जाट राज्य पनि विस्तार विकासमा विस्तृत र सङ्कुचित रहेको देखिन्छ । विभिन्न समयमा निर्माण भएका संरचनाले त्यतिबेलाको इतिहासलाई झल्काउने गर्छ ।जाटकालमा डडेलधुरामा रहेको किल्ला, तल्लो स्वराडमा रहेको किल्ला, तेल्यालेकमा नौ ढुङ्गाले निर्माण भएका धर्मशाला, हाटकोटका नाउला, देवलहरू जाटले निर्माण गरेका पाइन्छन् । उपर्युक्त संरचना ऐतिहासिक र पुरातात्त्विक महत्वका रहेका छन् । जाटबाट निर्माण भएका संरचना युगौँसम्म रहेकाले जडन्ती भन्ने गरिएको छ । जाटबाट शासित क्षेत्र भएकाले जडान क्षेत्र पनि भन्ने गरिएको छ । जाट राज्य भोटसम्म पनि फैलिएको थियो । हिउन माल बर्खा भोट (हिउँदमा तराईतिर र बर्खामा भोट) आफ्नै राज्यमा बस्थे भन्ने मान्यता छ ।
जाटबाट निर्माण गरिएका जडन्तीमध्ये थपलाका बाइस ओखल पनि हुन् । एकै ढुङ्गामा यत्तिका ओखल हुनुले समृद्ध बस्ती रहेको अनुमान गर्न सकिन्छ । पहाड खनेर गरा बनाई, इजर काटेर खेती गर्ने गरिन्थ्यो । त्यसैमा समथर भित्री मधेशमा रोपाइँ गर्ने गरिन्थ्यो । परिगाउँको ठुलो फाँटमा एक हजार कामदार लगाएर एकै दिनमा रोपाइँ गरेका थिए भन्ने किंवदन्ती छ । भनिन्छ– त्यहीँबाट सङ्कलित अन्नलाई बाइस ओखलमा कुटी महिनौँ युद्ध गर्ने सेनाका लागि रसद व्यवस्थापन गर्ने गरिन्थ्यो । तत्कालीन समयमा स–साना राज्यहरू एकआपसमा लड्थे, त्यसैमा बाह्य आक्रमण पनि हुने गथ्र्याे । थपलाका ओखलमा हरेक साँझ हजार कटक (सेना) का लागि धान कुटिन्थे भने चल्स्याघट्टमा गहुँ, मकै, कोदो पिँध्ने गरिन्थ्यो ।
जाट पणवारको श्रीकोटमा दरबार थियो । त्यहीँबाट शासन व्यवस्था चल्थ्यो । एक पटक भोटसँगको वैरभाव भएका बेला भोटका कटक आएछन् । बाइस ओखलमा ४४ मुसलले एक ओखलमा दुई जना गरी धान कुटिरहेको दृश्य माथिको डाँडाबाट देखेछन् । यति ठुलो सैन्य अभ्यास हुँदै छ । यिनीहरूसँग लड्न सकिन्न भनी त्यहीँबाट फर्किए भन्ने किंवदन्ती पनि छ ।
ओखल जीवनोपयोगी खाद्य पदार्थलाई मुसल वा ढिकीको सहायताले कुट्न, पिँध्न तथा मिसाउनका लागि प्रयोग गरिने बिचमा खाल्डो परेको ढुङ्गा, काठ तथा धातुको घरेलु औजार हो । ओखल धान कुट्ने अतिरिक्त चिउरा कुट्ने तथा अन्य अन्नको पीठो बनाउने काममा पनि प्रयोग गरिन्छ । सभ्यतासँग जोडिएकाले हरेक घर, परिवारसँग ओखल, मुसल अनिवार्य हुने गर्थे । त्यसै गरी सार्वजनिक स्थलका रूपमा तोरी पेल्ने कोलु, घट्ट र ओखल गाउँभरिको एक ठाउँमा पनि बनाइएका हुन्थे । सार्वजनिक स्थलका रूपमा ओखल ढुङ्गालाई प्रयोग गरिन्थ्यो । त्यही अगेठोमा आगो बालेर ताप्ने र सामूहिक रूपमा सामाजिक चर्चा परिचर्चासमेत गरिन्थ्यो । ओखल, घट्ट, तोरी पेल्ने कोलु हरेक गाउँमा बनाइएका हुन्छन् । सबैको प्रयोगमा आउने गरी निर्माण भएका हुन्छन् ।
थपलाको कोलुचाडमा एकै ढुङ्गामा गाउँभरिका सार्वजनिक बाइस ओखल रहेका छन् । गाउँको मध्यभागमा रहेको एक ढुङ्गा त्यसमा रहेका बाइस ओखल ऐतिहासिक र पुरातात्त्विकसँगै पर्यटकीय महìवका छन् । दमाउ ढुङ्गा, प्याउली ढुङ्गा, लाल ढुङ्गा भनिएजस्तै यो ठाउँ ओखल ढुङ्गाका नामले पनि परिचित छ । एउटा दुइटा ओखल त धेरै ठाउँमा हुन्छन्, प्रत्येक घरमा पनि हुन्छन् ।
गाउँमा सार्वजनिक प्रयोग हुने पनि हुन्छन् । तर एकै ढुङ्गामा बाइस ओखल हुनु निकै महìवको मानिन्छ । थपलालाई डोटी राज्यको सांस्कृतिक राजधानी पनि मानिन्छ । धेरै बस्तीको सुरुवात यसै गाउँबाट भएको भन्ने मान्यता पनि छ । एकै ढुङ्गाका बाइस ओखलले परापूर्वकालको इतिहासलाई झल्काइरहेको छ । छ मिटर लम्बाइ चार मिटर चौडाइ कछुवा आकारको ढुङ्गामा बाइसै ओखल तन्दुरुस्त अवस्थामा रहेका छन् । १५ सय वर्ष पुरानो इतिहास सम्झाउने यहाँबाट प्रकृतिको मनोरम हिमाल र तराईको मैदानी फाँट अवलोकन गर्न सकिन्छ । पुरानो इतिहासको अन्वेषण, अनुसन्धानका लागि महत्वपूर्ण यो ओखल ढुङ्गा जाटकालीन इतिहास, सभ्यता, संस्कृतिको जीवन्त प्रमाण हो ।