• २३ पुस २०८१, मङ्गलबार

खुर्कोटको पुल निर्माणमा तीव्रता

blog

मन्थली (रामेछाप),  कात्तिक ३ गते । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रूपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रूपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो । 

यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फको) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौँसम्मको छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो । 

अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्ने गरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिहनुभएको भएको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले बताउनुभयो ।  

उक्त पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी आवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता बिछ्याउने र लेबल मिलाउनेलगायत अन्य काम भइरहेका छन् ।

पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्बाध रूपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन । एकतर्फी रूपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताउनुभयो । 

खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्नका र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोग गरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महँगिएको थियो । 

यसअघि बिपी राजमार्ग सञ्चालन हुनु पूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट मानिसले काठमाडौँ आवतजावत गर्न मन्थलीबाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका थिए । नेपाली सेनाका अनुसार अबको तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी आवागमन गराउन सकिन्छ । रासस