• २३ पुस २०८१, मङ्गलबार

धमाधम बन्दै पन्ध्र शय्याका अस्पताल

blog

गुल्मीदरबारमा सञ्चालनमा आउन लागेको १५ शय्याको अस्पताल । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास, कात्तिक ३ गते ।  गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन लागेको छ । गाउँपालिकाले एमबिबिएस डाक्टरका लागि आवेदन खुलाएको बताउँदै अस्पताल सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारसमक्ष आवश्यक उपकरणसमेत माग गरेको छ । गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले कर्मचारीको व्यवस्थापन र आन्तरिक व्यवस्थापनका लागि पालिकाले योजना बनाएको बताउनुभयो ।

तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा पहिलो पटक गुल्मीदरबारले अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरेको हो । कुल १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपियाँको लागतमा अर्जुन बिल्डर्स तम्घास गुल्मीले अस्पताल निर्माण गरेको हो । यसका साथै चन्द्रकोट गाउँपालिकाको पनि अस्पताल निर्माण सम्पन्न भएको छ । 

छत्रकोट गाउँपालिका–४, शृङ्गामा अस्पताल शिलान्यास गरेको झन्डै चार वर्ष पुग्न लाग्दा पनि बन्ने नबन्ने अन्योल छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जग्गा प्राप्तिको कार्य सम्पन्न भई डिपिआर तयार भएको र डिपिआर स्वीकृत कसले गर्ने भन्नेबारेमा केन्द्रमा अन्योल रहेका कारण समस्या भएको बताउनुभयो । मालिका गाउँपालिका–४, अर्खबाङमा शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेको र अस्पताल निर्माण हुन नसक्ने भएकाले नजिकै जग्गाको व्यवस्थापन गरी यस वर्ष टेन्डरको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिनुभयो ।

 त्यस्तै धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा लामो समयको कसरतपश्चात् मन्त्रालयबाट डिपिआर र नक्सा परिवर्तन गरी आएकाले अस्पतालको निर्माण सुरु गरिएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका गोकर्णराज विष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोडभन्दा बढीको लागतमा पाएको छ । 

इस्मा गाउँपालिका–४, दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माण २३ प्रतिशत भौतिक प्रगति भएको छ । रुरुक्षेत्र गाउँपालिका–१ को रातामाटामा निर्माणाधीन अस्पतालको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार यस आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

कालीगण्डकी गाउँपालिका–३, कनौटामा करिब साढे १२ करोडको लागतमा खिम्ती–श्रेष्ठ–अञ्जना जेभीले अस्पताल निर्माण गरेको छ । सो अस्पतालको करिब ४० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सत्यनारायण राईले जानकारी दिनुभयो ।  सत्यवती गाउँपालिकामा १५ शय्याको अस्पताल–६ जोहाङमा निर्माण अन्तिम अवस्थामा पुगेको छ । पालिकाका इन्जिनियर आशिष भट्टका अनुसार ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । 

मदाने गाउँपालिका–६, पुर्कोट दहमा अस्पताल निर्माणको भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीका अनुसार ६५ प्रतिशत भौतिक प्रगति र ६० प्रतिशत आर्थिक प्रगति भएको छ । मुसीकोट नगरपालिका–७ मा १५ शय्याको अस्पताल निर्माण कार्य ७५ प्रतिशत भौतिक प्रगति भएको स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभयो ।