ललितपुर, कात्तिक २ गते । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुरु गर्नुभएको छ । शुक्रबार पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग आयोजनाबारे समिक्षात्मक छलफल गर्नुभएको हो ।
आयोजनाको अन्तिममा समिक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले सुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरी छलफल सुरु गर्नुभएको छ । उहाँले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढि जोड दिने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु ।’’
उहाँले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरुले चालू आर्थीक वर्षमा भएका योजनाका उपलब्धीहरु, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षती र बाढीपछि भएका कामबारे पनि जानकारी गराएका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुङ्गेपुल र सडकहरुमा बाढीका कारण क्षति पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरुले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिनेक्रम रोक्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरि पहल गर्नुपर्ने बताएका थिए ।
मन्त्रालयका सचिव मणिराम गेलालले चालू आवको विनियोजित कार्यक्रमहरु सम्पन्न गर्न देखापरेका समस्या, समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रष्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताउनुभयो ।