कविराज घिमिरे
हिले, कात्तिक १ गते । एक दशकको अन्तरालमा धनकुटाबाट भेडा लोप हुने अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा धनकुटामा भेडाको सङ्ख्या जम्मा १२८ मात्र रहेको पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल धनकुटाको तथ्याङ्कमा छ । अघिल्लो आवमा यो तथ्याङ्क ५२८ थियो । करिब एक दशकअघि यो तथ्याङ्क करिब दुई हजारको हाराहारीमा थियो । यो व्रmम तेह्रथुममा समेत उस्तै छ । केही वर्षअघिसम्म तेह्रथुमको उच्च क्षेत्रमा हजारौँको सङ्ख्यामा भेटिने भेडा अहिले ७०७ मा सीमित भएका पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल तेह्रथुमले जनाएको छ ।
एक समय धनकुटा तथा तेह्रथुमका उच्च क्षेत्रमा जताततै भेडा देख्न पाइन्थ्यो । धेरैको जीविकोपार्जन भेडापालनबाटै हुन्थ्यो तर पछिल्लो समय यो पेसा नै सङ्कटमा परेको छ । अहिले पालन गर्नेले पनि व्यावसायिक नभई गाईबाख्रासँगै अलि अलि मात्र पाल्ने गरेका छन् तर पालिएका भेडा बिव्रmी गर्न न बजारको समस्या छ न पाल्न नै समस्या छ । भेडापालन गर्न समस्या नभए पनि भेडापालन व्यवसाय हराउँदै गएको तेह्रथुमका कृषक नरबहादुर रानामगर बताउनुहुन्छ । पुख्र्यौली रूपमा आफूले पाल्दै आए पनि पहिले पहिले भेडा पाल्ने अन्य स्थानीयले अहिले पाल्न छाडेको उहाँको भनाइ छ ।
धनकुटा तथा तेह्रथुम भेडापालनका लागिका उपयुक्त क्षेत्र हुन् । पछिल्लो समय भेडापालन लोप हुँदै जानुको मुख्य कारण खर्कहरू मासिनु तथा पेसा परिवर्तन हुनु हो । अहिले उच्च क्षेत्रमा राम्रो तरकारी खेती हुने गरेको छ । जहाँ पहिले खर्क हुन्थ्यो र त्यहीँ भेडापालन हुने गरेको थियो । भेडापालनभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएकाले यो पेसा सङ्कटको अवस्थामा पुगेको पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल धनकुटाका पशु उपप्राविधिक अधिकृत दिनेश कार्की बताउनुहुन्छ ।
योबाहेक उन प्रयोग गर्ने दक्ष जनशक्तिको समेत अभाव हुनु, राडीपाखी, कोटलगायतका सामग्रीसमेत निर्माण नगरिनु अर्थात् उनको खपत नहुनु मुख्य समस्या रहेको पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल तेह्रथुमका प्रमुख लोकनाथ ढुङ्गाना बताउनुहुन्छ । भेडापालन व्यवसाय लोप हुँदै गएसँगै मूल्य भने आकासिएको छ । भेडाको मासुका लागि चाडपर्वमा प्रतिकिलो दुई हजार रुपियाँसम्म खर्चिनुपर्ने अवस्था आएको उपभोक्ताहरू बताउँछन् । व्यवासायिक रूपमा पालन नहुने भेडा चाडबाडमा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छ ।