• २१ पुस २०८१, आइतबार

मौसम खुलेसँगै मन्थली–लुक्ला उडान सुरु

blog

रामेछाप सदरमुकाम मन्थलीस्थित मन्थली विमान स्थल । तस्बिर : नवराज श्रेष्ठ

नवराज श्रेष्ठ
रामेछाप, असोज ३० गते ।
मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको मन्थली–लुक्ला उडान पुनः सुरु भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।

मौसम खुलेपछि बुधबार बिहान ९ बजेदेखि मन्थली–लुक्ला उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक हिरण्य साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खुम्बु क्षेत्रको मौसम बिग्रिएका कारण सोमबार र मङ्गलवार मन्थली–लुक्ला उडान हुनसकेन । आज मौसम खुलेपछि बिहान ९ बजेदेखि नै उडान सुरु भएको छ । उडान सुरु भएको एक घण्टामै १० वटाभन्दा बढी उडान भइसकेका छन् ।”

मौसम खराबीका कारण सोमबार र मङ्गलबार एउटा पनि मन्थली–लुक्ला उडान हुन नसक्दा सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि सडक मार्ग मार्फत मन्थली आएका एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका थिए ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमानस्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पुर्‍याउने र ल्याउने गरिरहेका छन् । एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटासम्म मन्थली–लुक्ला उडान हुने गरेको छ ।