• २१ पुस २०८१, आइतबार

अस्पतालबाट आधारभूत सेवा सञ्चालन

blog

तस्बिर : लोकेन्द्र जोशी दार्चुलाको मालिकार्जुन गाउँपालिका–८, पस्तीमा निर्माण गरिएको आधारभूत अस्पताल भवन उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री गणेशसिंह ठगुन्ना ।

दार्चुला समाचारदाता

दार्चुला, असोज ३० गते । दार्चुलाका दुई वटा गाउँपालिकामा निर्माण भएका १० श-याका अस्पताल भवनबाट आधारभूत सेवा सञ्चालनमा आएका छन् । नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा निर्माण गरिएका अस्पताल भवनबाट आधारभूत सेवा सञ्चालनमा आएको हो । २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको योजना अनुसार दार्चुलाका सात वटै गाउँपालिकामा शिलान्यास भएका आधारभूत अस्पतालका भवनमध्ये हालसम्म दुई वटा भवनको मात्रै निर्माण सम्पन्न भएको छ । 

नौगाड गाउँपालिकामा केही महिनापहिले निर्माण पूरा भएर अस्पतालबाट आधारभूत सेवा सञ्चालनमा आएको छ । यही असोज २२ गते मालिकार्जुन गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन गरेर सेवा शुभारम्भ गरिएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । संविधान सभा सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मालिकार्जुनको अस्पताल भवन उद्घाटन गर्दै दक्ष जनशक्ति र उपकरणका लागि केन्द्र सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

नौ वटा स्थानीय तह रहेको दार्चुलाको सदरमुकामस्थित महाकाली नगरपालिकामा जिल्ला अस्पताल र शैल्यशिखर नगरपालिकामा गोकुलेश्वर अस्पताल रहेका छन् । बाँकी सात वटै गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तर्गत नौगाड र मालिकार्जुनमा भवन निर्माण सम्पन्न भएको हो । निर्माणाधीन अवस्थामा रहेका अस्पताल भवनमध्ये मार्मा गाउँपालिकामा ९० प्रतिशत निर्माण भएको सबइन्जिनियर विव्रmम जोशीले बताउनुभयो । व्यास गाउँपालिकामा ६५ प्रतिशत काम पूरा भएको गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो । यस्तै अपिहिमाल गाउँपालिकामा ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले बताउनुभयो । 

लेकम र दुहुँमा अलपत्र

दार्चुलाको लेकम गाउँपालिका र दुहुँ गाउँपालिकामा भने आधारभूत अस्पताल निर्माण कार्य अलपत्र परेका छन् । लेकम र दुहुँमा अस्पताल भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी यमुना एन्ड जगदम्बा बिल्डर्स जेभीले पेस्की लगेर सम्झौता अनुसार काम नगरेको पाइएको छ । पेस्की लगेको करिब तीन वर्ष बित्दासमेत निर्माण व्यवसायीले कामगर्न अटेरी गरेको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताउनुभयो । निर्माण व्यवसायीले दसैँपछि दुवै स्थानीय तहमा अस्पताल भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

ठेकेदारलाई पटक पटक ताकेता गर्दासमेत निर्माण कार्य अलपत्र छाडेको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । समयमै अस्पताल भवन निर्माण सम्पन्न नभएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । निर्माण व्यवसायीको लापर्बाहीका कारण अस्पताल भवनको निर्माण कार्य सन्तोषजनक नभएको जनप्रतिनिधिको भनाइ छ । ठेकेदारले केही दिनभित्र अस्पताल भवन निर्माणको काम नथाले आवश्यक कारबाही प्रकृया अघि बढाउने दुहुँ गाउँपालिकाका अध्यक्ष बडालले बताउनुभयो ।