• ८ पुस २०८१, सोमबार

बिपतपछिको देश र दसैँ

blog

बाढीपहिरोको महामारीसँगसँगै नेपालीको घरआँगनमा दसैँ प्रवेश गरिसकेको छ । विपत्तिमा लतपतिएको देश अनि पर्वको उल्लास पनि सँगसँगै भयो । प्रकृतिको यो नियतिबाट सायदै मानव जाति अलग हुन सक्छ । तथापि जस्तोसुकै आपत्विपत्मा पनि धैर्य गर्न र रमाउन सक्ने गुण नेपाली नागरिकमा छ ।

दसैँं नेपालीको ठुलै पर्व हो । हिन्दु समाजका विभिन्न समुदाय अनि वर्गले फरक फरक तरिकाले मनाउने गरे पनि यसको महिमा अनि महìवका अन्तर्य उस्तै उस्तै हुन्छन् । तथापि जसले जसरी व्याख्या गरे पनि दसैँंको महानता अलग्गै छ । यसलगत्तै तिहार अनि छठले अझै महिना दिनसम्म नेपालीको घरआँगनमा पर्वको उल्लास बाँकी नै रहने छन् ।

गत असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण करिब २४६ जना मानिसको अकालमा मृत्यु भयो । १८ जना अहिले पनि बेपत्ता छन् । देशभरि यो वर्षाले ज्यानको मात्रै नभई अर्बौं रुपियाँको अन्नबाली नष्ट गरेको छ । हजारौँ मानिस विस्थापित भएका छन् । सयौँ घाइते छन् । अनि अर्बौंको भौतिक क्षति राज्यले बेहोर्नुपर्ने अवस्था आएको छ । यो विपत्तिसँगसँगै देशभरिका राजमार्ग, सहायक मार्ग अनि गोरेटोसमेत क्षतिग्रस्त भएका छन् । मुख्य राजमार्ग अहिले पनि खण्ड खण्डमा अवरुद्ध छन् । यसबाट दसैँका लागि मातृभूमि फर्किनेहरूले सास्ती बेहोरिरहनु परेको छ । दसैँं भनेको एउटा उमङ्ग, उल्लास अनि पारिवारिक र सामाजिक पुनर्मिलनको पर्व पनि हो । 

नेपालीको एउटा महान् सामाजिक पर्व दसैँमा देशविदेशबाट समेत पारिवारिक सदस्य घर फिर्ने योग जुर्छ । यस्तो अवस्थामा रोजोरोटीका लागि घरबाहिर रहेका पनि फर्किरहेका छन् । विपत्का कारण अहिले देशभरि यातायातका साधन राम्रोसँग चलाउन नसकिने अवस्था छ । यस्तो अवस्थामा राज्यका सबै संयन्त्र परिचालन गरेर सडक सुचारु गर्न र यातायातको व्यवस्थापनका लागि स्थानीय सरकार अनि स्थानीय जनप्रतिनिधि अग्रसर हुनु पर्छ । सङ्घीय सरकारले उनीहरूसँग समन्वय गरेर तत्काल जनजीवन सहज बनाउन सकिन्छ । तत्काल आधारभूत राहतको व्यवस्थापनले पर्वका बेला विपत्मा परेका नागरिकलाई केही सहज हुन सक्छ ।

विपत् भनेको आकस्मिक हुन्छ, प्राकृतिक यस्ता विपत्लाई चाहेर पनि मानव जातिले रोक्न सक्दैन । अबको युगमा पूर्वसूचनाका संयन्त्र विकास भइसकेका छन् । विपत्को पूर्वजानकारी अनि पूर्वानुमानले त्यसको क्षति कम गर्न मद्दत गर्छ । नेपालमा पनि यस्ता प्रणालीहरू खडा छन् । सरकारले सम्भावित विपत्बारे नागरिकलाई पूर्वजानकारी दिने र त्यसबाट बच्नका लागि सावधानी अपनाउन पूर्वसचेतना गराउने कार्य पनि गराउँदै आएको छ । तथापि हामीले यस्ता प्राकृतिक विपत्तिबाट हरेक वर्ष वा हरेक मौसममा क्षति बेहोर्दै आएका छौँ । यो नियतिबाट हामीले कहिल्यै छुटकारा पाउन सकेनौँ । पाठ पनि सिकेनौँ । 

हरेक विपत् समस्या सँगसँगै समाधान पनि लिएर आउँछन् । छेक्न अनि रोक्न नसकिने यी विपत््बाट हामीले पाठसमेत सिक्नु पर्छ । हरेक वर्ष आउने बाढीपहिरो अनि अचानक आउने महाभूकम्पका धक्काले हामीलाई धेरै शिक्षा दिइसकेको छ । त्यसलाई हामीले ग्रहण गर्न मात्रै नसकेका हौँ । ग्रहण यस अर्थमा पनि विपत्पछिको क्षति न्यूनीकरण र त्यसपछिको व्यवस्थापनमा हामी जहिल्यै चुकिरहेका छौँ । उद्धार अनि राहत कार्यमा हामी जहिल्यै ढिलाइ गर्छौं । सरकार अनि सरकारी संयन्त्रले काम नगरेका होइनन् तर आपत्विपत्मा परेका नागरिकलाई महसुस हुने गरी राज्यका संयन्त्रले तत्परता नदेखाउँदा सरकारप्रति जनआक्रोश बढ्न जान्छ । भौगोलिक र प्राकृतिक रूपमै हाम्रो देश यस्ता विपत्को जोखिम रहेको भूगोल हो । भूकम्पदेखि बाढीपहिरो अनि भूक्षय, आगलागीजस्ता विपत्ले हामीलाई सधैँ छोइरहेका हुन्छन् । त्यसमा अहिले विश्वव्यापी समस्याका रूपमा रहेको विश्व तापमान वृद्धि र जलवायु परिवर्तनका असरले हाम्रोजस्तो विकासशील देशहरूलाई अझ विपत्का घेराभित्र धकेलिरहेका छन् । 

आपत्विपत्बाट बच्न र बचाउने उपायको मन्थनका लागि भर्खरै मात्र हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसङ्घीय महासभामा सम्बोधन गरेर फर्किनुभएको छ । यी सबै विषयबाट हामीले सिक्नुपर्ने कुरा के हो भने राज्यले आफूसँग भएका संयन्त्र र संरचनालाई सधैँ तम्तयार अवस्थामा राख्नु पर्छ अनि उद्धार र राहतका लागि सबै संयन्त्र परिचालनको तत्परता रहिरहनु पर्छ । उद्धारका लागि अत्याधुनिक र सुरक्षित स्रोतसाधनको व्यवस्थापन अर्को महìवपूर्ण कुरा हो । राज्यको ढुकुटीले भ्याएसम्म हाम्रोजस्तो जोखिमयुक्त देशमा उद्धार र राहतका लागि एउटा अलग्गै संयन्त्र निकै अत्यावश्यक हो । यसबारे हाम्रा नीतिनिर्माताले तत्काल सोच्नु पर्छ । राष्ट्रको दीर्घकालीन योजनामा एउटा उद्धार संयन्त्रको निर्माणलाई प्राथमिकतामा राखिनु पर्छ । यो अहिलेको आवश्यकता भइसकेको छ । त्यस्तै प्रकृतिको दोहन रोक्नका लागि कडा कानुन बनाउनु पर्छ । भएका ऐन कानुनलाई तत्काल प्रभावकारी कार्यान्वयनमा ल्याउन जरुरी छ । अबका विकास निर्माण वा भौतिक संरचनाका निर्माण विपत् प्रतिरोधी बनाउनतर्फ राज्यले तत्काल कडा नीति अख्तियार गर्न जरुरी छ ।

दुई दिनको वर्षाले देश दुई सातासम्म पनि अस्तव्यस्त छ । चाडपर्वको यो मौसमले पनि अझ अस्तव्यस्तता बढाइरहेको छ । सरकारी संयन्त्रसामु यही बेला धेरै कामका अभिभारा आइलागेका छन् । आपत्विपत्का बेला हुने कालोबजारी, उपभोक्तामाथि हुने ठगी अनि कृत्रिम अभाव सिर्जना भइरहेका छन् । राज्यका निकायले गर्ने बजार अनुगमनले आमनागरिकलाई छुन नसकेको आभास भइरहेको छ । यद्यपि बजार अनुगमन नियमित नै भइराखेका हुन्छन् तर चाडपर्वलाई लक्षित गरेर हुने अनुगमन पनि आम उपभोक्ताको हितमा हुन नसकेको गुनासा आइरहेका छन् । यस्तो अवस्थामा उपभोक्तालाई बजार सहजीकरणका लागि सरकारले एउटा छुट्टै संयन्त्र निर्माण गर्नु पर्छ । उपभोक्तामाथि हुने ठगी कार्य रोक्नका लागि तत्कालै कारबाही गर्ने अधिकारसमेत दिनु पर्छ । यसले चाडपर्वमा मात्रै होइन, अघिपछि पनि हुने कालोबजारी अनि कृत्रिम मूल्यवृद्धिलाई रोक्न मद्दत गर्छ ।

बाढीपहिरोको महाविपत्तिपछि अझ सामुन्नेमा आएको अर्को चुनौती हो जनस्वास्थ्य । बाढीपहिरोमा धेरै क्षति भएको छ । त्यसमा पनि मानिसका लागि नभई नहुने कतिपय आधारभूत आवश्यकताका पूर्वाधार पनि क्षतिग्रस्त भएका छन् । जस्तो कि धेरै ठाउँमा खानेपानीका मुहान भत्किएका छन् । पिउने पानी वितरणका संयन्त्र खलबलिएका छन् । यही विपत्तिपछि काठमाडौँमा मेलम्चीको पानी नियमित हुन सकेन । आमनागरिकले ट्याङ्कर अनि जारका पानीबाटै जीवन धान्नु प¥यो । पिउने पानीका मुहान खलबलिँदा कैयौँ स्थानमा नागरिक अहिले दूषित पानी पिउन बाध्य भएका छन् । 

बाढीपहिरोमा परेर कैयौँ पशुपन्छीको पनि ज्यान गएको छ । मृत मानव शरीरको अन्त्येष्टि तथा व्यवस्थापन भए पनि पशुपन्छीको मृत शरीरलाई त्यत्तिकै छोडिँदा त्यसको दुर्गन्धले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । त्यसमा पनि बाढीपहिरोका कारण दूषित खाना र शुद्ध पिउने पानीको अभावले अर्को महामारी फैलिने खतरा हुन सक्छ । यस्तो अवस्थामा सरकारले स्थानीय सरकारलाई अझ चनाखो बनाउनु पर्छ । टोल टोलमा स्वास्थ्यकर्मी खटाउनेदेखि लिएर पिउने पानीका मुहान तत्काल मर्मतसम्भार गरेर शुद्ध पिउने पानी वितरण गर्न ढिलाइ गर्नै हुन्न । मनसुन बाहिरिने व्रmममा छ । पूर्ण रूपमा बाहिरिएको छैन । मनसुन सकिएर आगामी हिउँदका बेला पनि नेपालमा औसतभन्दा धेरै वर्षा हुन सक्ने प्रक्षेपण भइसकेका छन् । 

हिउँदका मौसममा हुने वर्षा अनि त्यसबेला हुन सक्ने सम्भावित अरू पनि विपत्का लागि अहिले नै राज्यका संरचना तयारी अवस्थामा रहनु पर्छ । यद्यपि मनसुनको यो विपत्बारे धेरथोर पूर्वसूचना पहिला नै गरिएको थियो । तथापि सचेत र सावधानी अपनाउन नसक्नु अनि विपत्पछिको व्यवस्थापनमा चुक्नु भनेको कतै न कतै हाम्रा संयन्त्र जिम्मेवारीमा कमजोर भएकै हुन् भन्नेमा दुबिधा छैन । आगामी दिनमा यस्तो हुन नदिनका लागि अहिले नै सरकारले उनीहरूलाई सचेत गराउनेदेखि लिएर समीक्षा गरेर अघि बढ्न बढाउन प्रेरित गर्नु पर्छ ।

विपत्का कारण अहिले आमजनजीवन अस्तव्यस्त भएको छ । त्यसमाथि चाडपर्व नागरिकको जीवन अझ अत्यासिलो भएको छ । जे जस्तो भए पनि आपत्विपत्का बेला राज्यको अभिभावकत्वको महìव अझ बढी महसुस हुनु पर्छ । अहिले नागरिकको घरआँगनमै सरकार छ । सरकारका प्रतिनिधि (जनप्रतिनिधि) छन् । उनीहरूले आमनागरिकको जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नु पर्छ ताकि सरकारप्रति आमनागरिकको अपनत्व महसुस होस् । यो अप्ठ्यारो परिस्थितिसँगै भित्रिएका चाडपर्वले आमनेपालीलाई यी चुनौतीको सामना गर्ने शक्ति र साहस प्रदान गरून् भन्ने अपेक्षा गरौँ ।