• १२ कात्तिक २०८१, सोमबार

साफ च्याम्पियनसिप दसैँभन्दा महत्त्वपूर्ण

blog

काठमाडौँ, असोज २५ गते । अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालको ठुलो चाड दसैँ भन्दैन । खेलाडीहरूले देशका लागि दसैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ । यसपालि कराँतेकी स्टार खेलाडी एरिका गुरुङसहित उहाँको टिम विश्व कराँते च्याम्पियनसिप खेल्न इटालीमा रहेको छ । नेपालको यु–२० पुरुष भलिबल टिम श्रीलङ्कामा काभा यु–२० भलिबल च्याम्यिनसिपमा व्यस्त छ । अन्य केही खेलाडी पनि दसैँमा नेपालको प्रतिनिधित्व गर्न देशबाहिर छन् ।

दसैँमा घरेलु खेलकुद भने ठप्प हुन्छ । दसैँमा सबै जसो खेलाडी, खेलकर्मी आआफ्ना परिवार र साथीभाइसँग रमाउने गर्छन् तर नेपालको ‘हाइप्रोफाइल’ टिम महिला फुटबल टोलीका सदस्यले दसैँ राम्रोसँग मनाउन नपाउने भएका छन् । साफ महिला च्याम्पियनसिप–२०२४ को तयारीमा रहेको नेपाली महिला फुटबलरहरू दसैँमा पनि प्रशिक्षणमा व्यस्त हुने छन् । नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिमको अभ्यास दसैँमा पनि जारी रहने बताउनुभएको छ । प्रशिक्षक तामाङ भन्नुहुन्छ, “यसपालि जसरी भए पनि साफ च्याम्पियन बन्ने लक्ष्य छ । टिम राम्रो छ । तयारी पनि राम्रो भइरहेको छ । महिला लिगमा सव्रिmय हुँदा सबै खेलाडी राम्रो म्याच प्राक्टिसमा पनि छन् । यो समयमा साफ जितेन भने हामी अझ पछि धकेलिन्छौँ । त्यसैले टीका लगाउन मात्र बिदा दिएको छु । शुव्रmबार अभ्यास गरेर खेलाडीहरू आआफ्ना घर जान्छन् । शनिबार टीका लगाएर आइतबार पुनः प्रशिक्षणमा फर्कन भनेको छु ।”

नेपाल अहिलेसम्म साफ महिला फुटबल च्याम्पियन बन्न सकेको छैन । यद्यपि नेपालले छ संस्करणमध्ये पाँच पटक फाइनल खेलेको छ । पछिल्लो संस्करणमा नेपाल उपाधि भिडन्तमा बङ्गलादेशसँग स्तब्ध भएको थियो । अन्य चार पटक नेपाललाई फाइनलमा भारतले निराश बनाएको थियो । त्यसैले पनि यस पटक कात्तिक १ देखि १४ सम्म दशरथ रङ्गशालामै हुने साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा च्याम्पियनभन्दा कमको उपलब्धिमा चित्त नबुझाउने सोचाइमा प्रशिक्षक तामाङ रहेको छ । पछिल्लो संस्करणमा तामाङ सहायक प्रशिक्षक हुनुहुुन्थ्यो ।

प्रशिक्षक तामाङलाई दसैँको एक दिन बिदामा पनि खेलाडीको ‘डाइट प्लान’ बिग्रेला भन्ने डर छ । उहाँ भन्नुहुन्छ, “दसैँको माहोलमा अस्वस्थकर खानेकुरा खाएर फिटनेसमा समस्या आउला भन्ने चिन्ता छ तर मलाई खेलाडीप्रति विश्वास छ । सबैले दसैँभन्दा पनि साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दिलाउनु ठुलो हो भन्ने बुझेका छन् ।”

प्रशिक्षक तामाङले चार दिनअघि बन्द प्रशिक्षणमा रहेका २७ जनाको नाम सार्वजनिक गर्नुभएको थियो । यी खेलाडीमध्येबाट अन्तिम टिमको घोषणा गरिने छ । प्रारम्भिक चरणमा ४० जना बन्द प्रशिक्षणमा थिए । नेपालका प्रमुख स्ट्राइकरद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल भने टिमसँग प्रशिक्षणमा हुनुहुन्न । यी दुवै विदेशमा व्यावसायिक फुटबलमा व्यस्त हुनुहुन्छ । रेखा अहिले एफसी महिला च्याम्पियन्स लिग आबुधाबी क्लब र सावित्रा फ्रेन्च लिगमा गुइनगाम्पमबाट खेलिरहनुभएको छ । यद्यपि दुवै साफ महिला च्याम्पियनसिपमा खेल्न नेपाल आउने बताइएको छ तर सावित्रा सुरुका खेलमा सहभागी हुन नसक्ने सम्भावना छ ।

प्रतियोगितामा नेपालको पहिलो खेल कात्तिक २ गते भुटानसँग परेको छ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग कात्तिक ५ गते र समूह चरणमा तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कासँग कात्तिक ८ गते प्रतिस्पर्धा गर्ने छ । यसै गरी समूह ‘ए’ मा गत विजेता बङ्गलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । 

प्रशिक्षक तामाङले आफ्नो समूहमा रहेका तीन टिममध्ये भुटानलाई कठिन मान्नुभएको छ । उहाँका अनुसार भुटानी महिला टिमको स्तर निकै सुध्रेको छ । प्रशिक्षक तामाङले श्रीलङ्का र माल्दिभ्स सहज प्रतिद्वन्द्वी देखिए पनि कसैलाई हलुका रूपमा लिने छैनौँ पनि भन्नुभयो । नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा पनि महिला साफ नेपालले आयोजना गरेको थियो ।