• ९ मंसिर २०८१, आइतबार

'मेलम्चीको पानी सिधै पिउन योग्य छ'

blog

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछाने ।

काठमाडौं, असाेज २४ गते । उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो । 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडाैंमा आएको छ । पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडाैंमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँले उपत्यकामा हिजोबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको बताउनुभयो । उहाँले ५ करोड लिटर पानी भने बागमती नदीमा पठाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, "मेलम्ची खोलामा अहिले प्रशस्त पानी छ । करिब ४० करोडदेखि ५० करोड लिटर पानी खोलामा छ तर हामीले सबै पानी डाइभर्ट गरेका छैनौँ । अहिले हामीले २५ करोड लिटर पानी डाइभर्ट गरेका छौँ । काठमाडौंमा करिब २२ करोड लिटर पानी आइपुगेको छ । तर हाम्रो पानी प्रशोधन केन्द्रको क्षमता भनेको १७ करोड लिटर मात्रै छ । बढीमा हामीले १८ करोड लिटर पानी प्रशोधन गर्न सक्छौँ ।"

यसबाहेक बाँकी रहेको पानी वागमती नदीमा छोडिएकाे उहाँले बताउनुभयाे । वागमती नदीमा दिनको करिब ४ करोड लिटर पानी मेलम्ची नदीबाट थपिएको र वागमती नदीमा अहिले करिब ९ करोड लिटर पानी थप भएको छ । "हाम्रो ट्रिटमेन्ट प्लान्टमा करिब १८ करोड लिटर पानी प्रशोधन भएर वितरण भएको छ । ट्रिटमेन्ट भएको पानी पनि करिब १७ करोड लिटर प्लस हामीले वितरण गरिरहेका छौँ," उहाँले भन्नुभयाे ।

कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी पिउन योग्य भएको बताउनुभयो । उहाँले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिने बताउनुभयो । यद्यपि पुरानो लाइनबाट गएको पानी भने पाइपहरुको टुटफुटका कारण प्रदूषित हुन सक्ने उहाँको भनाइ छ । 

यस्तै, उहाँले मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकन पिउन सकिने गुणस्तरमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "एक त मेलम्चीको पानी सुन्दरीजलसम्म आउँदाखेरी पानी राम्रो नै आइराखेको हुन्छ । त्यहाँ हाम्रो अत्याधुनिक पानी प्रशोधन केन्द्रहरु छ । त्यहाँ हामीले ३-४ लेयरमा पानीलाई प्रशोधन गरेर फेरि लास्टमा क्लोरिनेशन गरेर पठाउँछौँ । पुरानो लाइनबाट गएको पानी छ भने हामी भन्न सक्दैनौँ, हामीले शुद्ध पानी पठाउँदा पनि पाइप फुटेर अरु पानी प्रदूषित हुनसक्छ ।"

 पठाइएको नयाँ लाइनबाट पानी आएको छ भने धाराको पानीलाई नउमालिकन पिउन सक्नेगरी पिउन योग्य गुणस्तरमा पठाएकाे उहाँले जानकारी गराउनुभयाे । "त्यसको गुणस्तर चेक हामी प्रत्येक दिन, प्रत्येक घण्टा पनि चेक गरेर ट्रिटमेन्ट प्लान्टबाट छोडेका छौँ । पुरानो लाइन कस्तो छ भन्न सकिन्न । तर नयाँ लाइनको पाइप जोडिएको छ भने त्यो पानी ढुक्कसँगले पिउन सक्ने अवस्था छ," उहाँले थप्नुभयाे ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बागमती नदी मुहानबाट पानी सङ्कलन गर्न अगाडि बढाएको योजना इआइए स्वीकृत नभएको कारण रोकिएको उहाँले बताउनुभयो । वागमती नदी मुहानमा वर्षातको समयमा प्रशस्त पानी रहने तर सङ्कलन हुन नसक्दा खेर गएको छ । मुहानमा प्रशस्त पानी हुने तर तलका जनतामा पिउने पानीका लागि तड्पिनुपर्ने अवस्था छ। उहाँले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नहुँदा नागरिकलाई पानी वितरण गर्न नसकिएको बताउनुभयो । 

यसैगरी, वातावरणीय अध्ययन प्रतिवेदन फास्ट ट्रयाकमा स्वीकृत गर्नुपर्नेमा उहाँकाे जोड छ। उहाँले अध्ययन प्रतिवेदन छिटो स्वीकृत गर्नुपर्ने कुरामा नीतिगत सुधार गर्नुपर्ने समेत उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, "नीतिगत निर्णय गर्नुपर्नेचाहिँ हामीसँग वर्षातको बेलामा वागमती नदीमा मुहान क्षेत्रमा प्रशस्त पानी रहन्छ । तर त्यहाँ अहिले हामीले पाँच करोड लिटर मात्रै पानी ल्याएका छौँ । त्यो ठाउँमा केयुकेएल र भ्याली बोर्डले पाइपलाइन बिस्तार गर्ने भनेर पाइपलाइनको क्यापिसिटी थप्ने गरिएको थियो त्यहाँ वातावरणीय अध्ययन प्रतिवेदनहरु छिटो स्वीकृत हुन नसकेको कारणले गर्दाखेरी वर्षातमा पानी खोलामा बग्ने जनताकोमा पानी पुर्‍याउन नसक्ने अवस्था थियो । खानेपानीको लागि वातावरणीय अध्ययन प्रतिवेदन छिटो स्वीकृत गर्ने गरेर अथवा प्रतिवेदन स्वीकृत गर्दै गर्ने गरेर काम गराउनलाई सरकारले नीतिगत रुपमा निर्णय गर्नुपर्नेछ ।"

खोलामा पानी बढी भएर तल्लो तटिय क्षेत्रमा डुबान हुने । माथिल्लो तटिय क्षेत्रको पानीलाई १०-१२ करोड पानी ल्याउन सकियो भने त्यो पानी जनताको घरमा वितरण गर्न सक्ने र एकातिर जनताले पानी नपाउने । अर्कोतर्फ त्यही पानीले डुबान भोग्नुपर्ने कारणले यो वातावरणीय अध्ययन प्रतिवेदन लगायतका इस्युहरुलाई खानेपानीको सवालमा फास्ट ट्रयाकबाट गर्नुपर्ने नीतिगत सुधार र निर्णय हुनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

उहाँले अहिले २२ करोड लिटर पानी उपत्यकामा ल्याइएको भए पनि चैत र वैशाख महिनामा भने १७ करोड लिटर मात्रै ल्याइने जानकारी दिनुभयो ।

२०७८ साल असार १ गते र साउन १६, १७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीले मेलम्ची नदीको पानी डाइभर्सन गर्न बनाइएको हेडवर्क्सका संरचना पूर्णरुपमा नष्ट भएपछि वर्षातको समयमा पानी काठमाडौंमा पठाउन छोडिएको थियो । वर्षात कम भएसँगै पानी काठमाडौं उपत्यकामा पठाउन थालिएको हो ।