काठमाडौँ, वैशाख १४ गते । नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत ८४ खेलाडी अनुवन्ध गरेका छन् ।
आइतबार भएको ‘प्लेयर्स ड्राफ्ट’ बाट अनुबन्ध हुनेमा ५४ नेपाली र ३० जना विदेशी खेलाडी छन् । ड्राफ्टका लागि छनोट गरिएको एक सय ४२ जना खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको थियो ।
विदेशबाट १४ देशका ८० खेलाडीलाई पनि तीन वटै श्रेणीमा विभाजन गरिएको थियो । प्रत्येक टिमलाई बढीमा दुई खेलाडी रिटेन गर्ने सुविधा दिइएको थियो । बाँकी ७४ खेलाडी ड्रफ्टमार्फत लिइएको हो ।
आगामी जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने एनकेएलमा विराटनगर बाहुबली (कोशी प्रदेश), साविक विजेता जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौँ माभरिक्स (बागमती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दैछन् ।