• ८ मंसिर २०८१, शनिबार

मर्दी हिमाल छेउमै राखियो पर्यटन व्यवसायीको शालिक

blog

युवा पर्यटन व्यवसायी सुदीप गौतमको शालिक । तस्बिर सौजन्यः कृष्णप्रसाद आचार्य

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २४ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदारसिंह डाँडामा युवा पर्यटन व्यवसायी सुदीप गौतमको शालिक राखिएको छ । मर्दी हिमाल पदयात्रालाई विश्वमा चिनाउन योगदान गर्ने युवा पर्यटन व्यवसायी गौतमको २०७९ भदौ १४ गते लडेर मृत्यु भएको थियो ।

गौतमकी श्रीमती कविता अर्याल गौतमले अर्ध कदको शालिक निर्माणका लागि आर्थिक व्यवस्थापन गर्नुभएको छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले स्थान उपलब्ध गरायो । सुदीप सरका साथीहरु, केही पर्यटन व्यवसायी, गाउँपालिका, टान लगायतले यसका लागि सहयोग गर्नुभएको छ ।” 

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल,  माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र गौतमकी श्रीमती कविताले बुधबार शालिक अनावरण गर्नुभयो । सुदीपले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्नुभएको थियो । नेपाल पर्वतारोहण सङ्घ गण्डकीका संस्थापक सचिवसमेत रहेका गौतम नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल टानमा समेत आबद्ध हुनुहुन्थ्यो । 

प्रदेशसभा सदस्य बरालले पर्यटन व्यवसायी गौतमको योगदानले नै मर्दी पदयात्रालाई ब्रान्डिङ गर्न सहज भएको बताउनुभयो । “गौतमले मर्दी हिमाल पदयात्राको एक्प्लोर गर्न र यसको प्रवर्धनमा ठूलो भूमिका खेल्नुभएको थियो । गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चा कमाएको छ,” उहाँले भन्नुभयो ।