• ७ मंसिर २०८१, शुक्रबार

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

blog

दमौली अस्पतालमा भर्ना भएका बिरामीहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २४ गते । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।

अस्पताल प्रशासनका अनुसार १५ शय्या अनुमति पाएको अस्पतालमा आन्तरिक स्रोतबाट पचास शय्या क्षमतामा सञ्चालन भइरहेको र दैनिक चार सय   जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।  

"बिरामीलाई भुइँमा राखेर सेवा गर्नुपरेको छ स्थान अभावले बिरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डङ्गुका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ, उहाँले भन्नुभयाे । अस्पतालको स्तरोउन्नतीको लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिएको भएपनि सुनुवाई नहुँदा समस्या परेको वाग्लेले बताउनुभयो । 

जग्गाको अभाव भएको भन्दै गण्डकी प्रदेश सरकारले स्वीकृत नदिँदा समस्या परेको वाग्ले जानकारी दिनुभयो । वाग्लेका अनुसार बिरामी चाप धेरै भएकोले भर्ना बेडको अभाव भएकोले डायलासिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । दमौली अस्पतालमा बिरामी राख्न बेडको अभाव भएकोले स्थानान्तरण गर्न गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ ।

व्यास नगरपालिकाको सहरी क्षेत्र वडा नम्बर १,२, ३, ४ र ५ मा डेङ्गीका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढीरहेकोले बिरामी चाप धेरै भएको अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामी मध्य चालु आर्थिक वर्ष साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ गरी छ सय २१ जनामा डेङ्गुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिनुभयो । 

जिल्लास्तरीय दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका बिरामीसमेत आउने अस्पताल प्रशासनले जनाएको छ ।