• १९ पुस २०८१, शुक्रबार

नेपाल विद्युत् प्राधिकरणसँग १५ बुँदे जानकारी माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सञ्चालक समितिका निर्णय तथा ठेक्कापट्टालगायतका १५ विभिन्न बुँदामा जानकारी माग गरेको छ ।

मन्त्रालयका सचिवस्तरीय निर्णयका आधारमा सोधिएको विवरण मागपत्रमा कर्मचारीको सेवा सुविधा सम्बन्धमा भएका सञ्चालक समितिका चार वर्षसम्मका निर्णय, कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरिएका अधिकार, राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थासँग गरेका समझदारी तथा सम्झौता तथा सहायक कम्पनीमा प्राधिकरणको सेयर स्वामित्व विवरण दिन भनिएको छ । 

त्यसबाहेक काजमा खटिएका कर्मचारीको विवरण, खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणका लागि भएका छलफल तथा विवरण, ट्रान्सफर्मर तथा अन्य उपकरणको मौज्दातको र प्राधिकरणले उत्पादन गर्ने सिमेन्ट पोलसम्बन्धी विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै गरी प्रक्रियामा रहेका बोलपत्रसम्बन्धी विवरण तथा जानकारी पनि मन्त्रालयलाई दिन भनिएको छ । महालेखा परीक्षकको लेखा परीक्षण विवरण र त्यसमा फस्र्योट हुन बाँकी विवरण पनि माग गरिएको छ । 

मन्त्रालयका उपसचिव माधव मरासिनीमार्फत प्रेसित पत्र अनुसारको विवरण १५ दिनभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयले प्रशासनिक तथा ठेक्कादेखि कर्मचारी सरुवा जस्ता विभिन्न जानकारी मागेको बताउनुभयो । मन्त्रालयका ऊर्जा सल्लाहकार प्रबल पोखरेलले मन्त्रालयले पठाएको पत्र विविध विषयवस्तुमा सरोकारको मन्त्रालयले जानकारी मागेको बताउँदै यसलाई विशुद्ध प्रशासनिक प्रक्रिया भएको बताउनुभयो ।