• ९ मंसिर २०८१, आइतबार

भूमिगत विद्युतीकरणको काम सत्तरी प्रतिशत

blog

चितवन समाचारदाता

चितवन, असोज २२ गते  । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिब सत्तरी प्रतिशत सम्पन्न भएको छ । भूमिगत विद्युतीकरण कार्य चार वर्ष अगाडिदेखि सुरु भएको हो । भरतपुर महानगरको मुख्य क्षेत्रमा मात्र भूमिगत गरिने योजना रहेकोमा योजना थप भएर भरतपुरदेखि चनौलीसम्म भूमिगत हुने भएको छ । यो काम थपिएपछि भूमिगत विद्युत्को कार्य केही समय लाग्ने पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका सहायक इन्जिनियर सन्दीप विव्रmम साहले जानकारी दिनुभयो । 

दुई वटा सबस्टेसनबाट छ वटा फिडरमार्फत भूमिगत लाइन छोड्न तयारी गरिएको छ । सबस्टेसनमा आवश्यक पर्ने प्यानल समयमा आइनसक्दा ती फिडरबाट विद्युत् छोड्न कठिन हुने आयोजनाले जानकारी दिएको छ । हेटौँडा ग्रिड कार्यालयले प्यानल ल्याउँदै छ । चाँडै फिडरबाट विद्युत् छोड्ने तयारीमा रहेको छ । एघार केभिए लाइन जडान भएका छ वटा फिडर भूमिगत रूपमा सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको भए पनि भूमिगत गर्नका लागि सुरुआती बिन्दुमा प्रयोग हुने प्यानल अभावले लाइन छोड्न सकिएको छैन । बसेनी सबस्टेसन र आँपटारी सबस्टेसनमा प्यानल आउनासाथ भूमिगत विद्युत् छोडिने छ । 

पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम हुँदै आएको छ । प्रहरी तालिम केन्द्रपछाडि रहेको नारायणी लिफ्ट नहरको छेउबाट पश्चिम चितवन लैजाने काम पनि भइराखेको इन्जिनियर साहले जानकारी दिनुभयो । 

बसेनीबाट भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीबाट पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडक थपिएको छ । केन्द्रीय बस टर्मिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्र भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत काम भइराखेको छ । 

भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्र भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको उहाँले जानकारी दिनुभयो । महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड रुपियाँ लाग्ने छ । सुरुमा एक अर्ब ३० करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

भूमिगत तार बिछ्याउने काम सकिएको स्थानमा पोलमा जडानको काम गर्ने तयारी रहेको छ । भरतपुरको मुख्य सडकमा भूमिगत तार भए पनि भित्री सडक र घरायसी प्रयोजनका लागि गाडिएको पोलमा भने तार जडान कार्य भइराखेको उहाँले जानकारी दिनुभयो ।