• ७ मंसिर २०८१, शुक्रबार

किसानलाई धान भित्र्याउने चटारो

blog

धनगढी समाचारदाता

धनगढी, असोज २२ गते । कैलालीका किसान धान भित्र्याउन व्यस्त भएका छन् । घरआँगनमा दसैँ आइपुगे पनि धान पाकेकाले किसानले धमाधम धान भित्र्याउन थालेका हुन् । पछिल्ला केही दिनयता नियमित घाम लाग्न थालेकाले उनीहरूलाई धान काट्न र बाली भित्र्याउन सहज भएको छ । दसैँअगावै १० कट्ठा जमिनको धान काटेर भित्र्याइसकेको कैलारी गाउँपालिका–५, पवेराकी राधादेवी चौधरीले बताउनुभयो । 

किसानले धमाधम धान काट्न सुरु गरे पनि पानीले भिजाउने डर किसानमा छ । उन्नत जातको धान धेरै अगाडि नै पाकेकाले खेतमा पानी सुक्न नपाउँदै हतारमा भित्र्याउनु परेको उनीहरूको भनाइ छ । आकाश हेर्दै धान काट्ने काम गर्ने गरेको कृषक फूलराज चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई अझै पानी पर्ने डर छ । डराई डराई धान काटिरहेका छौँ । किनकि आकाशमा अझै बादल लागिरहेको छ ।” जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट असोज २० गतेदेखि यस वर्षको मनसुन बाहिरिएको छ तर आकाशमा बादल अझै देखा परिरहेकाले किसान भने ढुक्क हुन सकेका छैनन् । उनीहरूले धान काटेर चाँडै भित्र्याउने काम गरिरहेका छन् । खेतमा पानी रहेकाले कतिपय किसानले कम्बाइन मेसिनबाट धान काटेर भित्र्याइरहेका छन् । पानी जमेको खेतमा पनि सो मेसिनले राम्ररी धान काट्ने गरेकाले किसानलाई धान काट्न सहज भएको छ । 

कैलालीमा यस वर्ष ६७ हजार ४३६ हेक्टर जमिनमा धान खेती गरिएको छ । बाढीले डुबान प्रभावित क्षेत्रमा केही हदसम्म धान खेतीलाई प्रभावित गरे पनि समग्रमा धान खेती राम्रो रहेको र उत्पादन बढ्न सक्ने किसानको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष कैलालीमा प्रतिहेक्टर जमिनमा ४.६ मेट्रिक टन बर्खे धान फलेको थियो ।