• ७ मंसिर २०८१, शुक्रबार

व्यावसायिकतातिर क्रिकेट

blog

विश्वमा खेलकुद अर्थतन्त्रका अब्बल आधार बन्दै छ । यो एकप्रकारले राम्रो उद्योगका रूपमा स्थापित भइसकेको छ । खेल र खेलाडीले कति देशका अर्थतन्त्रमा राम्रै टेवा दिएका छन् । विश्व अर्थतन्त्र जतिसकै खराब अवस्था आए पनि ‘स्पोर्ट्स स्टार’ को भाउ कहिल्यै घट्दैन । व्यावसायिक खेलाडी अब्बल मूल्यमा अनुबन्धित हुन्छन् । त्यसैले पनि विश्वका प्रायः राष्ट्रले खेलकुदलाई प्राथमिकतामा राखेका हुन्छन् । विकसित मुलुक त अझ अगाडि छन् ।

नेपालको सन्दर्भमा भने खेलकुद यसरी पूर्ण व्यावसायिक हुन सकेको छैन । नेपाली खेलकुदमा व्यावसायिकता अँगालेका खेल भनेको फुटबल, क्रिकेट र भलिबल मात्र हुन् । दुई दिनअघि मात्र नेपालमा पहिलो महिला फ्रेन्चाई भलिबल लिग सम्पन्न भयो । फुटबलको फ्रेन्चाई फुटबल लिग एनएसएलले पनि दुई संस्करण सम्पन्न गरेको छ । फुटबलर, क्रिकेटर र भलिबल खेलाडी विदेशी क्लबमा खेलिरहेका छन् तर निकै कम मात्र खेलाडीले त्यस्तो अवसर पाएका छन् । नेपालमा पनि फुटबल र भलिबलमा विदेशी खेलाडी खेल्न आउँछन् । यो फाट्टफुट्ट मात्रै छ भन्दा हुन्छ । यद्यपि उनीहरू विश्वस्तरीय हुँदै छन् । त्यसैले फुटबल र भलिबल अहिले अर्धव्यावसायिक मात्र छ भन्दा फरक पर्दैन । नेपालका प्रमुख लोकप्रिय यी तीन खेलमा पनि अहिले क्रिकेट यस मामिलामा अगाडि छ । नेपाली क्रिकेटले व्यावसायिक बन्ने छाँट देखाइरहेको छ । नेपाली क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेटरको तलब मासिक एक लाख रुपियाँ पु¥याइसकेको छ । यसै गरी क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) यसको अर्को राम्रो उदाहरण हो ।

एनपिएल फ्रेन्चाई क्रिकेट लिग हो । एनपिएलमा व्यापारिक घराना आबद्ध छन् । व्यापारिक घरानाले कुल १७ करोड रकम खर्चेर एनपिएलमा आबद्ध आठै टिमको स्वामित्व लिएका छन् । उनीहरूले आआफ्नो टिमबाट खेलाउन खेलाडीलाई पनि बोलकबोलमार्फत ठुलो मूल्य तिरेका छन् । यो व्यावसायिकताको शुभलक्षण हो ।

आइतबार भएको खेलाडी ‘अक्सन’ मा १२ खेलाडीले अधिकतम १५ लाख रुपियाँ प्राप्त गरे । अन्य ६८ जना क्रिकेटर पनि लाखौँमा आफूलाई मैदानमा उतार्न सक्षम भए । यी टिम मालिकहरूले नेपालका ठुला खेलाडीलाई मार्की खेलाडीका रूपमा आबद्ध पहिले नै गरेका थिए । करिब तीन हप्ताको प्रतियोगितामा खेलाडीले पाएको यो रकम नेपाली खेलकुदमा निकै सकारात्मक मान्नु पर्छ । अझ यस प्रतियोगितामा टिमहरूले विश्वका एक से एक विदेशी खेलाडी आबद्ध गर्ने भनेका छन् । एनपिएलमा एक टिमले चार विदेशी खेलाडी खेलाउन पाउने प्रावधान छ । एनपिएलमा नाम चलेका विदेशी क्रिकेटर ल्याउन टिमहरूले करोड रुपियाँभन्दा माथि खर्च गर्ने अनुमान गरिएको छ । त्यसैले पनि एनपिएल नेपाली मात्र होइन, विश्व खेलकुदमै एक आकर्षक बजार बन्ने योजनाका साथ अगाडि बढेको स्पष्टै देखिन्छ ।

हुन त क्यान निलम्बनमा छँदा नेपालमा यसअघि पनि फ्रेन्चाईकै अवधारणामा एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) को आयोजना हुने गर्दथ्यो तर अब क्यानले भारतमा हुने आइपिएल सरह एनपिएललाई ब्रान्ड बनाउने भन्दै बृहत् स्तरमा व्यावसायिक क्रिकेट लिगको सुरुवात गर्न लागेको हो । भारतमा हुने आइपिएलको कुरा गर्दा यसको ब्रान्ड भ्यालु १४ खर्ब २३ अर्ब भारतीय रुपियाँ रहेको छ । 

यसैले आइपिएलसँग तुलना गर्न व्यावहारिक हुँदैन तर विज्ञका अनुसार एनपिएलमार्फत फ्रेन्चाई क्रिकेटलाई अलग स्तरमा लैजान प्रयास हुँदै छ । यसले नेपाली क्रिकेट नयाँ युगमा प्रवेश हुने अपेक्षा छ । एनपिएलको सफलताले अन्य खेललाई पनि प्रेरित गर्न सक्छ ।

कुनै पनि खेल व्यावसायिक हुन सरकार, प्रायोजन, दर्शक र ब्रोडकास्टिङ प्रमुख पक्ष हुन् । सानो अर्थतन्त्र र दर्शक भए पनि नेपालमा खेलप्रति ‘क्रेज’ को कुनै कमी छैन । यहाँ जुनसुकै खेल होस् मैदानमा भरिभराउ दर्शक देख्न सकिन्छ । यसले नेपाली खेलको भविष्य देखाउँछ । अर्को पक्ष नेपालमा प्रतिभाशाली खेलाडीको पनि कमी छैन । यहाँ कर्पोरेट हाउसहरू पनि बिस्तारै खेलकुदमा लगानी गर्न हौसिएका छन् । खेलकुदलाई विज्ञापन गर्नु पर्छ भन्ने अहिले बिस्तारै बुझ्दै आएका छन् । यो बुझाइले नेपाली खेलकुदलाई बिस्तारै व्यावसायिक बनाउने छ । त्यसैले सरकार, सरोकारवाला निकाय र प्रायोजकको उचित समन्वय भएमा नेपाली खेलकुद पनि पूर्ण व्यावसायिक बन्दै जान सक्ने छ । यसले खेलजगत्का साथै खेलाडी र नेपाली अर्थतन्त्रलाई उँभो लगाउन सक्ने छ ।