कञ्चनपुर, असोज २२ गते । कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।
मादलको तालमा कम्मर मर्काउँदै थारू युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारूलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन् । युवाले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन् । स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताउनुभयो । थारू समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरिन्छ ।
जोनापुर गाउँका थारू बडघर सुरेश चौधरीका अनुसार पहिला फुर्सद हुने भएकाले कृष्ण जन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो । हाल सबै जना आआफ्नो कार्यमा व्यस्त हुने भएकाले यो नृत्य पाँचदेखि सात दिनसम्म मात्र देखाउने गरिन्छ ।
नृत्यमा सहभागी युवतीले भगवान् श्रीकृष्णको गाथासहितको गीत मौलिक तरिकाले गाउने गर्छन् । गाउँका भद्रभलादमी, बडघर, गुरुवा, केसौका लगायतको बैठक बसी सखिया नाचको व्यवस्थापन गर्ने गरिन्छ । थारू अगुवा चेतराज चौधरीका अनुसार गुरुवाले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवकयुवतीलाई दुष्टात्माको भवितव्यबाट जोगाउनका लागि पूजापाठ गरेपछि मात्रै नृत्यको आयोजना गरिन्छ । यस नाचमा मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी र अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिन्छ ।
नृत्यसँगै गीत गाउने युवतीको अगुवाइ गर्ने मोहिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भनिन्छ । स्थानीय दानसिंह दहितका अनुसार नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले सामूहिक रूपमा नृत्य पस्कने गर्छन् । जसलाई थारू भाषामा खोट (पैँया) भन्ने गरिन्छ । पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिवर्तन ल्याएकाले यो बढी पनि हुने गरेको छ । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने पौराणिक नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ ।
पञ्चमीको दिनअघि सादा पोसाकमा यस नृत्यलाई पस्किने र पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती तथा कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रङ्गीबिरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोला, अगिया, सेतो फरिया र गोन्या लगाउने गर्छन् । मादलको तालसँगै महिलाले हातमा मैजरी लिएर बजाउने गर्छन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई अन्य समय दिउँसो नाच्ने गरिन्छ ।
स्थानीय फूलराम चौधरीले दसैँपछि गाउँमा नृत्यमा सहभागी सबै जनालाई भोज खुवाउने चलन रहेको जानकारी दिनुभयो । धार्मिक मान्यता अनुरूप यो नाच आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास रहेको छ । थारू अधिकारकर्मी हवलदार चौधरीले थारू समुदायमा यस नाचको परम्परा कायमै रहे पनि मौलिकतापन भने केही हराउँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “युवाले बुढापाकाबाट मादल बजाउने कला सिक्नै चाहेनन् र बुढापाकाले पनि मादल बजाउन सिकाउनु पर्छ भन्नेमा ध्यान नदिँदा संस्कृतिको महìवपूर्ण पक्ष नै सङ्कटमा परेको छ ।”
लवाइखवाई र पहिरनले जातजातिको संस्कृतिबारे पहिचान दिने भए पनि सखिया नृत्यमा लगाउने पहिरनमा तथा गहनामा परम्परागत मौलिकपन हराउँदै गएको चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “महिलाले आफैँले सियोको माध्यमले सिलाएर लेहङ्गा, चोलीलगायत पहिरन तयार पार्थे ।
हाल त्यो सिप थोरै महिलासँग मात्रै संरक्षित छ तर पुस्तान्तरण हुन सकेको छैन ।”