• ८ मंसिर २०८१, शनिबार

पुनर्निर्माणमा तीन तहकै सहकार्य जरुरी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २२ गते । गत साताको अविरल वर्षा र बाढीले ऊर्जा क्षेत्रमा पुर्‍याएको क्षतिबाट पुनस्र्थापनाका लागि तीन तहकै सरकारबिच सहकार्यमा जोड दिइएको छ । क्षतिको जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सात वटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गर्दै सहकार्यको आह्वान गर्नुभएको हो । सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग 

‘भर्चुअल बैठक’ गरी बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्था र अब गर्नुपर्ने कामबारेमा उहाँले जानकारी लिनुभएको हो । बैठकमा मन्त्री खड्काले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रुपियाँको क्षति पुगेको र अब पुनर्निर्माण गर्न तीन वटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

“हामीले अहिले स्वास्थ्य उपचार, खानेपानी, विद्युत्को उपलब्धता र सिँचाइको अस्थायी व्यवस्था गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय तहसँग समन्वय गरेर सबै लाग्नुहोस्, केन्द्र सरकारबाट हुने सहयोग तपाईंहरूलाई हुन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नसमेत सबै प्रदेश सरकारलाई आग्रह गर्नुभयो । बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले बाढीपहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेकाले पुराना आयोजना पुनर्निर्माण र सम्पन्न हुन लागेका आयोजनालाई सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले विपत् व्यवस्थापनका लागि पाँच अर्ब रुपियाँ बजेट निकासा गरेको भन्दै उक्त बजेटले तत्कालै नगरी नहुने समस्या समाधान गर्न सरकार लाग्ने बताउनुभयो । 

बैठकमा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एकराज कार्कीले बाढीले कोशी प्रदेशको सिँचाइ र तटबन्धनमा ९७ करोड ६४ लाख रुपियाँ बराबरको क्षति पुर्‍याएको बताउनुभयो । मधेश प्रदेशका मन्त्री शेषनारायण यादवले ठुला नदीमा आएको बाढीका कारण मधेश प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ ७४ करोड ९५ लाख बराबरको क्षति पुगेको बताउनुभयो ।

बागमती प्रदेशका मन्त्री श्याम खड्काले उक्त बाढीपहिरोबाट बागमती प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ एक अर्ब ९७ करोड रुपियाँ बराबरको क्षति पुगेको बताउनुभयो । गण्डकी प्रदेशका मन्त्री फणीन्द्र देवकोटाले गण्डकी प्रदेशमा यस्तो क्षति २३ करोड ६८ लाख रुपियाँ बराबरको रहेको जानकारी गराउनुभयो । लुम्बिनी प्रदेशका मन्त्री सीता शर्माले बाढीपहिरोले लुम्बिनी प्रदेशका १२ जिल्लामा ४४ करोड ६६ लाख रुपियाँ बराबरको क्षति पुगेको जानकारी गराउनुभयो । यस्तै कर्णाली प्रदेशका मन्त्री विजया बुढाले यस वर्ष कर्णालीभित्र बाढीपहिरोका कारण सिँचाइ र तटबन्धनको क्षेत्रमा ३३ करोड १३ लाख रुपियाँ बराबरको क्षति पुगेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण ४७ करोड बराबरको क्षति पुगेको जानकारी गराउनुभयो ।