• ८ मंसिर २०८१, शनिबार

खसीबोका कारोबारमा छैन उत्साह

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेसँगै खरिदका लागि आएका सर्वसाधारण । तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २२ गते । दसैँ सुरु भए पनि बजारमा खसीबोकाको माग भने बढ्न सकेको छैन । 

विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोका र च्याङ्ग्राको माग कम रहेको व्यवसायीको भनाइ छ । व्यवसायीले अहिले दैनिक दुई हजार पाँच सयसम्म खसीबोका र च्याङ्ग्रा उपत्यकामा भित्र्याइरहेका छन् । सोचे जस्तो किनबेच हुन नसकेको व्यवसायीको भनाइ छ । चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष जनक खड्काले बजारमा माग कम हुँदा खसीबोकाको कारोबार बढ्न नसकेको बताउनुभयो । 

बाढीपहिरोका कारणले कतिपय घरबारविहीन हुनु परेकाले उपभोक्ताको क्रयशक्ति नै न्यून हुँदा बजारमा खसीबोका कारोबार बढ्न नसकेको खड्काले बताउनुभयो । “यस पटक दसैँमा व्यापारमा खासै उत्साह छैन,” उहाँले भन्नुभयो “बजारमा खसीबोकाको माग नै कम छ ।”

व्यवसायीका अनुसार खसीबोकाको मूल्य पनि गत वर्षकै हाराहारीमा छ । बजारमा जिउँदो खसी प्रतिकेजी ६५० रुपियाँदेखि सात सय रुपियाँसम्म तोकिएको छ । 

बजारमा च्याङ्ग्राको मूल्य भने घटेको छ । गत वर्ष प्रतिकिलो एक हजार ३५० रुपियाँ रहेको च्याङ्ग्राको मूल्य अहिले एक हजार दुई सयदेखि एक हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ । बजारमा धेरै च्याङ्ग्रा आएकाले पनि मूल्य घटेको व्यवसायीको भनाइ छ । 

दसैँमा बजारमा दैनिक एक हजार पाँच सयसम्म च्याङ्ग्रा खपत हुने र सो माग पूरा हुने गरी उपत्यकामा भित्रिसकेको व्यवसायीको भनाइ छ । यसपालि दसैँमा २५ हजारसम्म खसीबोका र च्याङ्ग्रा खपत हुने व्यवसायीको अनुमान छ । 

व्यवसायी मात्र नभएर सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथली कार्यालयबाट आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । दुई दिनमा चार सय खसीबोका र एक सय च्याङ्ग्रा बिक्री गरेको कम्पनीले जनाएको छ । सोमबारसम्म एक हजार खसीबोका भित्रिएको कम्पनीले जनाएको छ । 

कम्पनीले खसीबोका प्रतिकिलो ६६० रुपियाँमा बिक्री गरेको छ । यस्तै च्याङ्ग्रा प्रतिकिलो एक हजार २२० रुपियाँका बिक्री गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले मुस्ताङबाट शनिबार तीन सय च्याङ्ग्रा उपत्यका भित्र्याएको थियो । थप खसीबोका भने आउने क्रममै रहेको कम्पनीले जनाएको छ । यस पटक दसैँमा कम्पनीले एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा  बिक्री गर्ने योजना बनाएको छ । 

विगतका वर्ष घटस्थापनाको दिनदेखि ल्याउने गरेकोमा यस वर्ष बाढीपहिरोका कारण खसीबोका आउन ढिलाइ भएको कम्पनीले जनाएको छ । दसैँमा बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुुलियतदरमा खसीबोका उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले हरेक वर्ष आफैँ बिक्री गर्दै आएको छ । हैटौँडा र तुलसीपुरबाट खसीबोका ल्याएको छ । कम्पनीले खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ  छुट दिएको छ ।