गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २२ गते । भारतले तनहुँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्यामा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
भारत भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष तथा स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबिच नयाँदिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शøयामा विस्तार गर्नुका साथै सुविधासम्पन्न उपकरणसहितको भवन निर्माणका लागि सम्झौता गर्ने प्रतिबद्धता जनाएको हो ।
स्वास्थ्यमन्त्री पौडेल विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनका लागि भारतमा हुनुहुन्छ । सो क्रममा मन्त्री पौडेलले गर्नुभएको प्रस्तावमा भारतका स्वास्थ्यमन्त्री नड्डाले ट्रमा सेन्टरको स्तरोन्नति, डायलासिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयनका लागि सघाउन गरेको प्रस्तावमा भारतीय समकक्षी नड्डाले सघाउने बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रमा भारतीय सहयोगबारे द्विपक्षीय समझदारी गर्ने सहमति भएको जानकारी दिनुभयो । मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकार गर्नुभएको छ । नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको भन्दै मन्त्री पौडेलले भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभयो ।