गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २२ गते । काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट ललितपुरमा खानेपानी आपूर्ति सुरु गरिएको छ । बाढीपहिरोसँगै पानीको अभाव हुन थालेपछि दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट ललितपुरको भैँसेपाटीस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी भण्डारण केन्द्रमा आपूर्ति सुरु गरिएको हो ।
दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले खानेपानीमन्त्री प्रदीप यादव, प्रतिनिधि सभा सदस्य तोसिमा कार्की, ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनको अनुरोधमा पानी आपूर्ति सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोले पानीका मुहान बन्द भएपछि चाडपर्वका समयमा पानीको अभाव भएको भन्दै खानेपानीमन्त्री, महानगरप्रमुख र जनप्रतिनिधिको अनुरोधलाई अस्वीकार गर्न सकिएन र पानी पठाउन सुरु गरिएको हो ।”
मन्त्री यादव र महानगरप्रमुख महर्जन पानी आपूर्तिका लागि शनिबार दक्षिणकाली नगरपालिका पुग्नुभएको थियो । उहाँहरू र दक्षिणकाली नगरपालिकाबिच मौखिक सहमतिकै आधारमा पानी पठाउन सुरु गरिएको नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पानी जस्तो मानवीय संवेदनासँग जोडिएको विषयमा कुनै सम्झौता वा सहमति आवश्यक छैन ।