• १६ पुस २०८१, मङ्गलबार

वैदेशिक रोजगारी : छात्रवृत्तिका लागि आवेदन दिन आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २१ गते । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग वा बिरामी भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको छ । 

बोर्डको सचिवालयले सूचना सार्वजनिक गर्दै वैदेशिक रोजगारीमा रहेकै बेला मृत्यु भएका, अङ्गभङ्ग वा बिरामी भएर फर्किएका श्रमिकका छोराछोरीलाई छात्रवृत्तिका लागि असोज महिनाभित्र आवेदन दिन आग्रह गरेको हो ।

बोर्डले वैदेशिक रोजगारीमा रहँदाकै अवस्था मृत्यु भएका र अङ्गभङ्ग वा बिरामी भएर फर्किएका श्रमिकका १२ कक्षासम्म अध्ययन गर्ने छोराछोरीलाई वैदेशिक रोजगार बोर्ड अन्तर्गत रहेको वैदेशिक कल्याणकारी कोषबाट छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

बोर्डका अनुसार त्यस्ता व्यक्तिका नेपालको कुनै पनि सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले छात्रवृत्तिका लागि आवेदन दिन सक्दछन् । 

योग्यता पुगेका व्यक्तिको आवेदन विद्यालयमा प्राप्त भएपछि आआफ्नो स्थानीय तह, शिक्षा समितिबाट निर्णय हुने गरी पालिकाले तोकेको (शिक्षा शाखा वा रोजगार सेवा केन्द्र) मा कागजातसहित सिफारिस गरिदिन बोर्डले आग्रह गरेको छ । बोर्डका अनुसार कोषबाट कक्षा शिशुदेखि ८ कक्षासम्म अध्ययन गर्नेलाई वार्षिक प्रतिव्यक्ति १२ हजार र नौ कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्नेलाई वार्षिक प्रतिव्यक्ति १६ हजार छात्रवृत्तिबापतको रकम उपलब्ध गराउँदै आएको छ । 

बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले घरको आर्थिक उपार्जनको स्रोत व्यक्ति वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर वा अङ्गभङ्ग वा बिरामी भएर फर्किंदा छोराछोरीले आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर कल्याणकारी कोषबाट थोरै भए पनि आर्थिक सहायता उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । यो रकम वर्षभरि पढ्नका लागि पर्याप्त नभए पनि केही राहत भएको प्रतिक्रिया धेरैबाट आएको उहाँको भनाइ छ ।