• १६ पुस २०८१, मङ्गलबार

हेटौँडा–काठमाडौँ जोड्ने तीन वटै सडक सञ्चालनमा

blog

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको महालक्ष्मीखोलानजिकै सडक सुचारुपछि गुड्न थालेका मोटरसाइकल ।

राममणि दाहाल

हेटौँडा, असोज २१ गते । गत साता आएको बाढीपहिरोपछि क्षतिग्रस्त तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएका छन् ।

हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार अपराह्न ४ बजेपछि सञ्चालनमा आएका हुन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डको कुलेखानी ड्यामनजिकै रहेको पुलको पहुँच मार्ग बाढीले बगाएपछि डाइभर्सन निर्माण गरेसँगै हेटौँडालाई काठमाडौँसँग जोड्ने तीन वटै छोटो दुरीको सडकमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

बाढीपहिरोले पुलसँगको पहुँच मार्ग बगाएर र कतिपय स्थानमा सडकको नामोनिसान नरहने गरी तीन वटै सडक गत शनिबारबाट अवरुद्ध बनेपछि यात्रुको यात्रा कष्टकर बन्दै आएको थियो ।

हेटौँडाबाट तीनदेखि साढे तीन घण्टामा 

काठमाडौँ पुग्ने गरेको तीन वटै प्रादेशिक मार्ग अवरुद्ध भएसँगै त्रिभुवन राजपथबाट दोब्बर समय लगाएर यात्रा गर्नुपर्ने अवस्था थियो । तीन वटै प्रादेशिक मार्ग सुचारु भएसँगै हेटौँडा काठमाडौँको यात्रा दुरी छोट्टिनुका साथै आवागमन सहज बन्ने भएको छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले अतिवृष्टिपछि आएको बाढीपहिरोका कारण प्रदेश राजधानी र सङ्घीय राजधानी जोड्ने प्रादेशिक मार्गमा ठूलै क्षति भएकोमा निरन्तरको प्रयास र सबैको सहयोगमा अस्थायी रूपमा आइतबारबाट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

उहाँले तीन वटै सडकको विभिन्न सडकखण्डका ९० भन्दा बढी स्थानमा गएको पहिरो, पुलको पहुँच मार्ग बगाएको र कतिपय स्थानमा विगतको सडकको नाप नक्सा पूर्ण रूपमा क्षति भएको अवस्थामा चाडपर्वको समयमा सडक सुचारु गर्नुपर्ने चुनौतीलाई स्वीकार गर्दै दृढ इच्छाशक्तिकै कारण अस्थायी रूपमा सुचारु गरिएको बताउनुभयो ।

“महालक्ष्मीखोला, कुलेखानी ड्याम, सिस्नेरी र दक्षिणकाली सडकखण्डमा गरी पाँच स्थानमा डाइभर्सन निर्माण गरिएको छ,” उहाँले भन्नुभयो, “सुरक्षित यात्रा र सडक सुरक्षाका लागि सतर्कता अपनाएका छौँ ।”

उहाँले भन्नुभयो, “बाढीपहिरोले हेटौँडा–काठमाडौँ छोटो दुरीको सडक सञ्जाल टुटेकोमा अस्थायी रूपमा सडक सम्पर्क जोड्न सफल भएका छाँै । छिट्टै बाढीपहिरोले क्षति पुगेका सडक दीर्घकालीन योजनासहिन बनाउन सुरु गर्छौं ।”

सिस्नेरी–दक्षिणकाली सडक यसअघि नै सुचारु भएकोमा कुलेखानी–सिस्नेरी सडकखण्ड आइतबार दिउँसोबाट सुचारु भएको थियो । महालक्ष्मीखोला–चखेल–मातातीर्थ सडकखण्ड, महालक्ष्मीखोला–फाखेल–फर्पिङ र सिस्नेरी–दक्षिणकाली–फर्पिङ यसअघि नै सुचारु 

भइसकेको थियो । सबैभन्दा पछि कुलेखानी ड्यामनजिकै रहेको पुलको पहुँच मार्ग बाढीले बगाएपछि डाइभर्सन निर्माणसँगै अब काठमाडौँ–हेटौँडा आवागन गर्न थप तीन वटा सडक सुचारु भएको छ ।

यसअघि नै थानकोट–चित्लाङ, वज्रवाराही–कुन्छाल–पालुङ हुँदै हेटौँडा त्रिभुवन राजपथ सञ्चालन हुँदै आएको छ । मन्त्रालयका सचिव अमृत श्रेष्ठले सडकमा डाइभर्सन बनाएर अस्थायी रूपमा सञ्चालन गरिएको तीन वटै सडक जोखिमपूर्ण रहेकाले सावधानी अपनाउँदै विभिन्न स्थानमा उपकरण व्यवस्था गरिएको जानकारी दिनुभयो ।