• २० असोज २०८१, आइतबार

मेची राजमार्गमा वैकल्पिक सडकको कटिङ सुरु

blog

मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्डको मर्मतमा कठिन भएपछि तत्काल यातायात सुचारु गराउन सिल्पुरस्थित सिमल गोलाईबाट तिल्केनी जोड्ने गरि वैकल्पिक सडकको मर्मत थालिएको छ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज २० गते । पहिरोले बगाएर क्षति भएको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्डको मर्मत नहुने भएपछि सिल्पुरस्थित सिमल गोलाईबाट वैकल्पिक मार्ग कटान सुरु गरिएको छ । सिमल गोलाई, जोगमाई खोला र माई खोला पार गर्दै इलाम नगरपालिकाको तिल्केनी जोडिने बाटोलाई तत्काल सुचारु गराउन कटान र मर्मत थालिएको हो । 

‘माथिपट्टि धाँजा फाटेपछि पहिरो जाने जोखिमले मर्मतको काम स्थगित गरेका छौँ,’ इलामस्थित सडक डिभिजन प्रमुख पवन भट्टराईले भन्नुभयो, ‘तत्काललाई अब वैकल्पिक सडकमै सवारी चलाउनेगरी काम हुनेछ ।’ भट्टराईका अनुसार सिमल गोलाईबाट तीनवटा एक्स्काभेटर र इलाम नगरपालिका तिरबाट दुई वटा एक्स्काभेटर लगाएर काम सुरु भएको छ। यो राजमार्गमा सवारीका साधन बन्द अवरुद्ध हुँदा झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क टुटेको छ । अहिले विभिन्न विकल्प प्रयोग गरी यात्रु पार गरिरहेका छन् । तर, वैकल्पिक सडकबाट पनि तत्कालै ठुला सवारीका साधन चल्न सक्ने अवस्था छैन । ‘मर्मत गरी ठुला सवारीका साधन नै चल्ने बनाउने छौँ,’ प्रमुख भट्टराईले भन्नुभयो ।

यसअघि जिल्ला विपद् व्यवस्थापन समिति बैठकले पनि यही मार्गलाई वैकल्पिक बनाउने निर्णय गरेको थियो । सिमल गोलाईबाट जोगमाई खोलासम्मको दुरी अढाई किलोमिटर छ । जोगमाई तरेपछि तिल्केनीसम्म छ किलोमिटर दुरी रहेको छ । जोगमाईमा अब दुईटा ह्युम पाइपमात्र हाल्ने हो भने सवारी साधन राम्रोसँग पार हुने इलाम नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधानले बताउनुभयो । 

‘ठुला सवारीलाई कतैकतै गोलाई र सडक फराकिलो बनाउनुपर्छ, धेरै समस्या चाहिँ छैन,’ प्रधानले भन्नुभयो, ‘सधैँको मेची राजमार्ग पार गर्नभन्दा यो वैकल्पिक मार्ग छोटो दुरी भएकाले मर्मत गरेर यातायात सुचारु गराउन त्यति धेरै समय लाग्दैन होला ।’

शुक्रबार दिउँसोदेखि यो खण्डको मर्मत थालिएको थियो । तर, मर्मत गर्दैगर्दा पहिरो झरेपछि सवारीका साधन चल्न सकेका थिएनन् । शनिबार पनि मर्मत निरन्तर रहेकाबेला त्यसभन्दा माथिल्लो भागमा धाँजा फाटेपछि जोखिम बढेको थियो । यहाँको करिब ३० मिटर भाग पहिरोले पूर्ण क्षति गरेको छ । करिब एक किलोमिटरमा दर्जनौँ ठाउँमा चर्किएको र धाँजा फाटेको छ । एक ठाउँ बनाएपनि अर्को ठाउँमा पहिरो गइहाल्ने अवस्था देखिएको सडक डिभिजन प्रमुख भट्टराईले बताउनुभयो । 

दसैँको मुखमा राजमार्ग क्षतिग्रस्त भएपछि सयौँ यात्रुले दुःख पाएका छन् । धेरै यात्रुहरू माइखोलाबाट सामान बोकेरै इलामतर्फको यात्रा तय गरिरहेका छन् । केही साना सवारीहरू भने तिल्केनी, माइखोला,,नामासालिङ, गुप्ती, फिक्कल हुँदै सञ्चालन हुन थालेका छन् । केही सवारीले फिक्कल, नयाँबजार, सोयाङ, दुधाङ, इलाम हुँदै यात्रुहरूलाई यात्रा गराइ रहेका छन् ।