• २० असोज २०८१, आइतबार

विद्युत व्यापारका लागि चीनसँग कुरा गरिराखेका छौँ: मन्त्री खड्का

blog

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ।

काठमाडौँ, असोज २० गते। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग  विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताउनुभएको छ।

आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बिचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठुलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताउनुभएको हो। 

उहाँले अन्य छिमेकी राष्ट्रले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरूप आग्रह गर्नुपर्ने बताउनुभयो। 

उहाँले चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो। उहाँले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो। 

मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्ततः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नुहुने बताउनुभयो। 

उहाँले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुनेगरी मोडिलिटी बनाउनुपर्ने बताउनुभयो। पैसा नहुनेले पनि जलविद्युतमा लगानी गर्नसक्ने अवस्था बनाउनुपर्नेमा उहाँको जोड छ।