• १५ असार २०८१, शनिबार

आयुक्त पौड्याल भन्नुहुन्छ, अति उत्साहजनक भने भएन

छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण र उत्साहजनक

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, वैशाख ३० गते। शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। काठमाडौं उपत्यकासहित हिमाल, पहाड र तराई–मधेसका अधिकांश स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले निर्वाचनलाई अति उत्साहजनक भन्न सकिने अवस्था नभएको बताउनुनभयो। यो निर्वाचनलाई  सामान्यरूपमा नै लिएको बताउनुभयो। 

गोरखापत्र अनलाइनसँग कुरा गर्दै आयुक्त पौडेलले भन्नुभयो, ‘‘कतिपय स्थानमा सुरक्षाको कमी भएको अनुभव गरिएको छ, २०७४ सालको निर्वाचनमा यस्तो अवस्था आएको थिएन। विभिन्न स्थानमा मतदान अवरुद्ध भएको छ, आयोगलाई २.३० बजेसम्म प्राप्त विवरणमा ३९ स्थानमा मतदान रोकिएको छ, कतिपय ठाउँमा पुनः सुरु भएको पनि हुनसक्छ।’’

वि.सं. २०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो। आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा २:३० बजेसम्मको विवरणमा जम्मा ३९ स्थानमा मतदान स्थगित भएको छ। आयुक्त पौडेलका अनुसार, आयोगले बिहान ७ देखि ५ बजेसम्म मतदानको अवधि तोकिए पनि ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले आज ८-९ बजेसम्म पनि मतदान गर्नेछन्।



सरकारले सुरक्षाको प्रत्याभूति गरेकाले एकै चरणमा निर्वाचन गर्न आयोग सहमत भएको जानकारी दिनुहुँदै आयुक्त पौडेलले सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा धेरै ठाउँमा विवाद उत्पन्न भएर मतदान स्थगित भएको बताउनुभयो। आयोगमा सुरक्षा हेर्नुहुने आयुक्त पौडेलले कतिपय ठाउँमा मतदान अधिकृतमाथि समेत ढुंगामुढा गर्ने र तान्नेजस्ता व्यवहार भएको जानकारी दिनुभयो।

कम्तीमा ६५ प्रतिशतभन्दा बढी मतदान हुने आयोगको अनुमान छ।  आज ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको विवरण सार्वजनिक भएको छ। कतिपय स्थानमा मतदान जारी रहेकाले कुल मतदान प्रतिशत आइसकेको छैन। मतदानमा विवाद हुँदा ढिलो मतदान सुरु भएका मतदान केन्द्रमा यो समाचार तयार पार्दासम्म मतदान जारी छ।  


तस्बिरः मनोजरत्न शाही