• २७ पुस २०८१, शनिबार

कष्टकर बन्दै दसैँ यात्रा

blog

भारी वर्षाको सम्भावना कायम रहेको भन्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको छ । असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठुलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

विधिवत् रूपमा दसैँ सुरु भएको छ । दसैँमा हरेकका अनेकथरी योजना हुन्छन् । घरबाट टाढा रहेकाहरूको पहिलो योजना हुन्छ, घर कहिले जाने ? टिकट कसरी लिने ? घर जाने पक्का भएपछि मात्रै उनीहरूका अरू योजना अगाडि बढ्छन् तर यसपालि अहिलेसम्म पनि धेरैको कहिले र कसरी घर जाने भन्ने टुङ्गो लागिसकेको छैन । कारण हो, असोजको दोस्रोे हप्ता तीन दिन परेको अविरल वर्षा र त्यसले निम्त्याएको विनाश । असोजको दोस्रो हप्ता नेपाल र नेपालीले अकल्पनीय घटना सहनु प¥यो । दसैँको मुखमा जिउधनको क्षति सहनु प¥यो । असोज १० गते बिहीबार साँझदेखि १२ गते मध्याह्नसम्म अविरल परेको वर्षाले हजारौँ नेपालीको खुसी लुटेको छ । सरकारी आँकडा अनुसार नै करिब साढे दुई सयले ज्यान गुमाएका छन् । 

वर्षासँगैको बाढीले काठमाडौँ उपत्यका र यसको आसपासमा व्यापक क्षति गरेपछि दसैँको मुखमा धेरै नागरिक निराश बनेका छन् । बाढीपहिरो प्रभावितको दर्दनाक पीडा एकातिर छँदै छ, अर्कातिर घर जान पाइने–नपाइने अनिश्चितताले धेरैलाई दसैँले छोएकै छैन । विभिन्न उद्देश्यले काठमाडौँ उपत्यकामा रहेका देशैभरका लाखौँ नागरिक यसपालि घर जान पाउँछन् कि पाउँदैनन् कुनै टुङ्गो छैन । वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । कतिपय अवरुद्ध सडक खुले पनि पानी नरोकिएका कारण पटक–पटक खुल्ने÷बन्द हुने अवस्था रहेको सडक विभागले जानकारी दिएको छ ।

सरकारले देशभरि एकै पटक सुरु गरेको सडक स्तरोन्नतिको काम, वर्षायामका कारण पहिरोले सडकमा पु¥याएको क्षति र निर्माण तथा मर्मतमा भइरहेको ढिलाइले राजमार्गहरू यात्रायोग्य अवस्थामा छैनन् । हरेक वर्ष दसैँ तिहारमा १५ देखि २० लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । पेसा–व्यवसायका व्रmममा उपत्यकामा रहेकाहरू दसैँ तिहार जस्ता चाडबाड मान्न भने थातथलोमै फर्किने गर्छन् । यसपालि पनि १८ लाख हाराहारी मानिस उपत्यकाबाट बाहिरिने आकलन थियो तर बाढीपहिरोले बाटो अवरुद्ध हुँदा घटनास्थापनासम्म पनि एक लाख बाहिरिन सकेका छैनन् ।

जसोतसो गएकाहरू तीन÷चार दिनसम्म बाटोमै छन् । बाटोमा तीन÷चार दिन रोकिएका यात्रुका पीडा सुनेरै धेरैले बस पाइहाले पनि जाने आँट गरेका छैनन् । अझै बागमतीसहित पूर्वी नेपालमा वर्षा भइरहेकाले उनीहरूको यात्रा झन् अनिश्चित बन्दै गएको छ । यसअघिकै वर्षाले गलेको जमिन थोरै पानी पर्दा पनि पहिरो जाने अवस्था छ । अझै दुई÷तीन दिन वर्षा जारी रहे धेरैले दसैँमा आआफ्नो घर जान कठिन पर्नेे निश्चित जस्तै छ । यही अवस्थामा यात्रुलाई गन्तव्यमा पु¥याउन नसकिने यातायात व्यवसायीले यसअघि नै स्पष्ट पारिसकेका छन् । फितलो यातायात व्यवस्थापन, असुरक्षित सडक र अधिक यात्रु चापबिच यसपालि दसैँमा यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । धेरैले यसपालिको दसैँमा यात्रा नगर्नेसमेत भन्न थालेका छन् ।

नेपालमा यस वर्ष मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो तर मनसुन बाहिरिएको छैन । मनसुन बाहिरिने बेला बुधबारदेखि पुनः देशका विभिन्न ठाउँमा वर्षा हुन थालेको छ । यो वर्षा शुव्रmबारसम्मै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्वी असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । पुनः वर्षा हुन थालेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्का सुझाव अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ । भारी वर्षाको सम्भावना कायम रहेको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको छ । 

असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठुलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

यो वर्षको दसैँको टीकाको दिनसम्म पनि मुलुकभरका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरिसकेको छ, जसले गर्दा दसैँमा जाने यात्रुको यात्रा सास्तीपूर्ण हुने देखिएको छ । विभिन्न सहरमा बसेकाहरू गाउँघर फर्किने भएकाले दसैँमा ठुलो सङ्ख्यामा यात्रुको आवागमन हुन्छ । दसैँमा टीका थाप्न पनि त्यत्तिकै सङ्ख्यामा यात्रुहरू एक ठाउँबाट अर्को ठाउँ पुग्छन् । हुन त सडक विभागले दसैँअघि नै मुख्य तथा सहायक राजमार्गका खाल्टाखुल्टी पुरेर यात्र सहज बनाउने दाबी गरेको छ तर गत हप्ताको अकल्पनीय क्षतिका कारण सडक मर्मत गर्ने समय निकै कम भएकाले दसैँअघि नै काम सम्पन्न गर्न कठिन छ । 

भाडामा मनपरी

अविरल वर्षापछिको बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको मौका छोपी हवाई सेवा प्रदायकहरूले यात्रुहरूसँग मनपरी भाडा लिन थालेका छन् । बाढीपहिरोले देशभर यातायात सेवा प्रभावित भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका जोड्ने सबै नाका बन्द भएका छन् । यातायात सेवा प्रभावित हुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरूले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ । यात्रुहरूको बाध्यताको फाइदा उठाउँदै एयरलाइन्सहरूले पहिलेको भन्दा दोब्बर भाडा असुल्न थालेका हुन् ।

चाडपर्वको मौका छोपेर मनपरी भाडा असुल्ने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ । गाडी भाडा मनलाग्दी लिने परम्परा नै छ । अझ हवाई भाडा पनि वृद्धि गरिएको छ । त्यसमाथि महँगो भाडा लिएर पनि समयमा उडान नभर्दा यात्रु मारमा परेका छन् । विमानस्थलमा घण्टौँ कुर्नु पर्दा यात्रुले आन्दोलनसमेत गरेका समाचार बाहिरिएका छन् ।

यात्रुले सास्ती खेप्नुपर्ने र ठगिनुपर्ने पुरानै प्रवृत्ति कायम छ । पछिल्ला दिनमा निजी-सार्वजनिक सवारीसाधनको सङ्ख्या बढ्दो छ । यद्यपि अझै यात्रु झुन्डिएर, कोचिएर यात्रा गर्न बाध्य देखिन्छन् । पर्वका बेलामा झन् सवारीसाधन पाउनै नसकिने अवस्था छ । चाडपर्व आउनु हप्तौँअघि लाइनमा बसेर टिकट काट्नुपर्ने विडम्बनापूर्ण अवस्था कायमै छ । अनलाइनको सिस्टम ल्याइएको भए पनि त्यसरी टिकट लिनेको सङ्ख्या सीमित छ ।

एकातिर सार्वजनिक यातायातको अवस्था दयनीय छ भने अर्कातर्फ मनपरी भाडा तय गर्ने प्रवृत्ति छ । मनलागी भाडा असुल्ने व्यावसायीमाथि सवारी ऐनमा टेकेर मात्र ट्राफिक प्रहरीले कारबाही गर्दा थोरै जरिबाना तिरेर सवारी धनी सहजै उम्कने प्रवृत्ति बढ्दो छ । यातायात व्यवसायीसँगको समन्वयमा सरकारले देशका सबै गन्तव्यमा सवारी भाडा तोक्दातोक्दै पनि कार्यान्वयन हुन नसक्नु अर्को विडम्बना छ ।

Author

मुरारी ढुङगेल