हिजोआज
श्रीमतीले मन दुख्ने कुरा गर्न छाडिसकिन्
म देख्दै छु
उनको फरियाले आँखीझ्याल बुन्दै छ
उनी सपाट बन्दै छिन्
हिजोका दिनहरू सम्झेर
लाली सुकेर हो कि
ओठ निला भाका छन्
अनुहार गैरीगाउँको सिमसार जस्तै रसिला छन्
भोक के हो ?
प्यास के हो ?
जिन्दगी भौँतारिरहेको छ, काकाकुल जस्तै
समयलाई जाल हाल्न मिल्ने भए !
समयलाई एकछिन सिउन मिल्ने भए !
चमेलीको आङमा चम्किने
एक जोर चोली सिलाइदिन हुन्थ्यो
डाँडामा आज फेरि घाम आयो
म सिउँदै छु उध्रिएको लुगा
अनि मिलाउँदै छु स्टकोटको मुजा
तर मैले सिउन भ्याएको छैन
चमेलीको मनभित्र फाटेका सिरक !
काँधमा उहीँ पुरानो स्टकोट चम्किरहेको छ
दाउरा सुरुवालमा माकुराले जालो बुनिसक्यो
कतिन्जेल थाम्ने हो चिसो सिरेटोलाई
छोराले लाएको दाउरा सुरुवालमा
मेरो रहर कतै मरेको छैन
मनभित्रका मेरो पीडाहरू
चमेलीको मुस्कामा अढेस् लागिरहेछन्
मायाले संसार चल्दो हो त
यो जिन्दगी कति सहज हुँदो हो !
आज हो कि भोलि हो
जिन्दगी चव्रmव्यूहमा रुमलिएको छ
कति सम्झाऊँ म चमेलीलाई
अब हतार नगर ! मधुपर्क