• १७ असार २०८१, सोमबार

काभ्रेका चार स्थानमा मतदान स्थगित

blog

काभ्रेको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उमावि मतदान केन्द्रमा विवादका कारण तोडफोड गरिएको मतपेटिका। तस्बिर शरण हुमागाईंको फेसबुकबाट

केदार तिमल्सिना 
बनेपा, वैशाख ३० गते।
काभ्रेका चार मतदान केन्द्रमा मतदान रोकिएको छ। जिल्लाको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमालेले एकलौटी रुपमा मतदान गरेको आरोप लगाउँदै एमालेका बुथ प्रतिनिधिमाथि हातपात गरेपछि मतदान रोकिएको हो। 

एमालेमा बुथ प्रतिनिधिमाथि कांग्रेस र माओवादी निकट कार्यकर्ताले कुटपिट गर्नुको साथै मतपेटिका समेत तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले भने विवादका क्रममा नमूनाका लागि राखिएको मतपेटिका तोडफोड भएको जनाएको छ। यसैगरी पाँचखाल नगरपालिका–१३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा मतदान अधिकृतले एउटै व्यक्तिलाई दुई वटा मतपत्र दिएको भन्दै नेपाली काँग्रेस निकट नेता कार्यकर्ताले विवाद सुरु गरेपछि मतदान रोकिएको हो। 

उक्त मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले निर्वाचनको लागि तयार गरिएको बुथमा तोडफोड गरी क्षतिसमेत पुर्‍याएका छन्। यस्तै जिल्लाको तेमाल गाउँपालिका–७ स्थित भुमेश्वर आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिनको लागि एक राउण्ड हवाई फायर गरेको हो। त्यसैगरी तेमालकै वडा नम्बर-९ स्थित कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच विवाद भएपछि उक्त मतदान केन्द्रको मतदान रोकिएको हो। 

मतदान रोकिएका सबै मतदान केन्द्रमा मतदान गर्न नसक्ने व्यक्तिले इच्छाएको व्यक्तिको विषयमा विवाद भएका कारण मतदान प्रक्रिया रोकिएको हो। काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले विवादका कारण रोकिएका मतदान केन्द्रमा मतदान पुनः सुचारु गर्ने विषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको बताउनुभयो।