• १५ असोज २०८१, मङ्गलबार

सरकारले गर्‍यो चार हजार ३३१ जनाको उद्धार : २४ बेपत्ता

blog

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद् सदस्यलगायत । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असोज १५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहलमा चार हजार ३३१ जनाको बाढीपहिरो र डुबानमा परेकालाई उद्धार गरेको बताउनुभएको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

उहाँले सरकारले केही गरेर भन्नु भन्दा पनि उद्धारमा गरेको पहललाई प्राथमिकता दिएर हेर्न अनुरोधसमेत गर्नुभयो।प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुभएको विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ।

विपद्को घटनाबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।

प्रधानमन्त्री ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जनाउनुभएको छ।

प्रधानमन्त्री ओलीले घाइतेको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसम्कने सम्भावित रोगको रोगथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो।क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उहाँले बताउनुभयो।