• १५ असोज २०८१, मङ्गलबार

दाउन्नेको सडक रातभर बन्द गरेर मर्मत गरिने

blog

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा भासिएको सडकखण्ड । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, असोज १५ गते ।
 पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा भासिएको सडक मङ्गलबार रातभर बन्द गरेर मर्मत गरिने भएको छ ।

बर्दघाट नगरपालिका-४ दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सोमबार साँझदेखि अवरुद्ध भएको सडक आज बिहान ९ बजेदेखि एकतर्फी सञ्चालन गरेर हल्का सवारी साधना पास गराइएको छ । बस र मालवाहक ट्रक र यात्रुवाहक बस भने सञ्चालन गर्न दिइएको छैन ।

लामो जामका कारण सवारी व्यवस्थापनमा भने समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीरले तत्काललाई सडकमा सवारी साधन सञ्चालनमा आए पनि आज राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्मलाई सडक बन्द गरेर मर्मत गरिने जनाइएको छ ।

करिब ४ मिटर सडक साढे १ फिट भासिएको छ । भासिएको सडकमा माटो र गिटी भरेर बेस तयार गरी सडक सुरु गरिएको हो । लगातार दुई दिनसम्म परेको वर्षाले गलेको सडक भासिएको थियो । सडक भासिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरू दुम्किबासमा र पश्चिमबाट पूर्व जाने गाडीहरू बर्दघाटमा रोकिएको थियो ।