• १३ असोज २०८१, आइतबार

पीडितलाई आवास व्यवस्थापन गर्न एमालेको ध्यानाकर्षण

blog

एमाले महासचिव शंकर पोखरेल । फाइल तस्बिर

काठमाडौँ, असोज १३ गते। नेकपा (एमाले) ले घरबारविहिन भएकाको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार आइतबार बसेको केन्द्रीय कार्यालयको आकस्मिक बैठकले असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा जनधनको निकै ठूलो क्षति भएको उल्लेख गर्दै सो ध्यानाकर्षण गराइएको छ।

एमालेले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी लगायतका जिल्लामा प्राकृतिक विपद्मा परी एक सयभन्दा बढीको ज्यान गएको, सयभन्दा बढी बेपत्ता र सयौंको सङ्ख्यामा घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ।

यसैगरी, शुक्रबार र शनिबार प्रतिकूल मौसमका बाबजुद जनताको जीउज्यानको सुरक्षाका लागि नेपाल सरकारले दिएको आपतकालीन पहल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत खोज, उद्धार र रराहतमा खटिने एमालेको स्थानीय कमिटी र जनसंगठनहरुप्रति एमालेले आभार प्रकट गरेको छ।