• १३ असोज २०८१, आइतबार

पर्यटन र कृषि मुख्य प्राथमिकता राख्छौँ : मुख्यमन्त्री पाण्डे

blog

अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।

रमेश पौडेल

पोखरा, असोज १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई सुनौलो र समुन्नत गण्डकी प्रदेश निर्माणका लागि पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ।

एबीसी टेलिभिजनको १७ औँ वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्युरोले पोखरामा आयोजना गरेको ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामीले गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउनका लागि पर्यटन र कृषि यी दुईवटा क्षेत्रको विकास गर्नुपर्छ । अहिले गाउँबाट सहर झर्ने र सहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने पनि यी दुई क्षेत्र हुन् । त्यसैले यसको क्षेत्रमा हामीले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ ।’ कृषिलाई व्यवसायीकरण गर्दै कृषिलाई उद्योगका रूपमा विकास गरेर मात्र बिदेसिएका युवा शक्तिलाई रोक्न सकिने उहाँको भनाइ थियो । गण्डकीमा पर्यटनको आधारशिला तयार भइसके पनि यस क्षेत्रलाई व्यापक प्रवर्द्धन गरी थप चलायमान बनाउन सके अर्थतन्त्रमा वृद्धि हुन जानेमा उहाँले जोड दिनुभयो ।  

सो अवसरमा बोल्दै केही सहभागीहरूले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासका लागि गण्डकी सरकारले पहल नगरेको गुनासोसमेत गरेका थिए । पोखरा पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल भने नभएको गुनासो टानका अध्यक्ष कृष्ण आचार्यले गर्नुभएको थियो । उहाँले प्रश्न गर्दै भन्नुभयो, "योजनालाई अक्षरशः पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बन्धित निकायले कुरा मात्र गर्ने चासो नै नदिएर समुन्नत बन्छ त ?"

यस्तै अन्तरक्रियाको क्रममा नेपाल आदिवासी जनजाति महासङ्घ प्रदेश समन्वय समिति गण्डकीका अध्यक्ष धर्म तमुले आदिवासीलाई पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने तर्क राख्नुभयो । "गण्डकी प्रकृति र संस्कृतिमा धनी प्रदेश हो । हरेक तहमा समान सहभागिता हुनुपर्छ । हामीलाई झाँकी र भेषभूषासहितको र्‍यालीका लागि मात्र डाक्नुको अर्थ छैन," उहाँले भन्नुभयो ।

यसैगरी गण्डकी प्रदेश संसदीय दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी समुन्नत गण्डकीको विषयमा धारणा राख्दै प्रदेशलाई समुन्नत बनाउनका लागि महिलाहरूको समान सहभागिता र सशक्तीकरणको आवश्यकता रहेको बताउनुभयो । सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख कुन्दन मिश्रले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा उक्त संवाद कार्यक्रम भएको एबीसी टेलिभिजन गण्डकी ब्युरोले बताएको छ ।