• १२ असोज २०८१, शनिबार

नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च

blog

बाढी आएको नारायणी नदी । तस्बिरः शान्ता अधिकारी

नदी किनारामा उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध

शान्ता अधिकारी

चितवन, असोज १२ गते । लगातारको मुसलधारे वर्षाका कारण शनिबार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ । जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो । यस अघि असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो ।

नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ । मापन अनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ ।  

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको बताउनुभयो । उहाँले राप्ती नदीको समेत पानीको सतह बढेकोले नदी किनारका बस्तीहरूमा सजगता अपनाउन र जिल्ला स्थित विपद् व्यवस्थापन टिम तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो । 

त्यस्तै माडी क्षेत्रका खहरे खोलामा बाढी आएकाले त्यहाँ पनि सजगता अपनाउनको लागि सूचित गरिएको पनि प्रजिअ यादवले जानकारी दिनुभयो ।