• १२ असोज २०८१, शनिबार

खानपानले महिलामा पाठेघरको समस्या

blog

हरिकृष्ण ऐडी

मुगु, असोज १२ गते ।  मुगुका अधिकांश महिलामा पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको छ ।

जिल्ला अस्पताल मुगुको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा जिल्लाको चार वटा पालिका र जिल्ला अस्पताल मुगुमा पाठेघरसम्बन्धी परीक्षण गर्दा कुल एक हजार ७२१ जना महिला पाठेघर समस्याबाट पीडित रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पताल मुगुकी नर्सिङ सहायक मनीषा लामिछानेका अनुसार छायानाथ रारा नगरपालिकामा ‘प्रोल्याप्स स्क्रिन’ मा ३२७ जना, ‘फिस्टुला स्क्रिन’ मा २८२ जना, खत्याड गाउँपालिकामा ‘प्रोल्याप्स स्क्रिन’ मा १८३ जना, ‘फिस्टुला स्क्रिन’ १४५ जनाका साथै मुगुम कार्मारोङ गाउँपालिकामा ‘प्रोल्याप्स स्क्रिन’ मा १०४ जना, ‘फिस्टुला स्क्रिन’ मा १०४ जना र जिल्ला अस्पताल मुगुमा ‘प्रोल्याप्स स्क्रिन’ मा २५३, ‘फिस्टुला स्क्रिन’ २४८ जना महिला पाठेघरबाट पीडित छन् ।

जिल्लामा सबैभन्दा बढी ३० देखि ४० वर्ष उमेर समूहका महिलाको पाठेघरसम्बन्धी समस्या बढी रहेको पाइएको छ तर स्वास्थ्य संस्थामा खुलेर आफ्ना समस्या राख्ने गरेको नपाइएको उहाँको भनाइ छ । छायानाथ रारा नगरपालिका–१२ की जुनरूपा विकको पाठेघरसम्बन्धी समस्या छ । विकले सुत्केरी अवस्थामा राम्रोसँग आराम गर्न नपाउँदा पाठेघरमा समस्या देखिएको बताउनुहुन्छ । उहाँले पाठेघरको शल्यक्रिया गर्दा घरमा काम गर्दा गाह्रो हुने भएकाले ‘रिङ प्रेसरी’ को वैकल्पिक उपचार गर्दै आएको बताउनुभयो । जिल्ला अस्पताल मुगुका डा. निर्मल शिवाकोटीका अनुसार जिल्लामा किशोरी अवस्थामा आमा बन्ने र सुत्केरी भएको तीन/चार दिनमै खेतबारीको काममा खटिनुपर्दा धेरै महिलामा पाठेघरसम्बन्धी समस्या निम्तिएको छ । 

उहाँले पाठेघरको समस्या भएकालाई जिल्ला अस्पताल मुगुले पाठेघरमा ‘रिङ पे्रसरी’ को माध्यमबाट वैकल्पिक सामान्य  उपचार दिँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार ‘रिङ प्रेसरी’ पाठेघरमा राखेका महिलाले जिल्ला अस्पताल मुगुमा आई तीन तीन महिनाको अन्तरालमा ‘रिङ पे्रसरी’ सफा गरी पुनः पाठेघरमा राख्नु पर्छ । मुगाली महिलामा पाठेघर खस्ने समस्याले भयावह रूप लिँदासमेत यसको न्यूनीकरणका लागि जिल्लाका सम्बन्धित निकायको खासै चासो देखिँदैन । 

जनस्वास्थ्यकर्मी किशोर मल्ल जिल्लामा पाठेघरबाट ग्रसित महिला दिनप्रतिदिन बढ्दै गए पनि ग्रामीण भेगका महिलालाई यो रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।