• १२ असोज २०८१, शनिबार

काभ्रेमा पहिरोका कारण नौ जना बेपत्ता

blog

केदार तिमल्सिना 

बनेपा, असोज १२ गते । अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको पहिरोका कारण हालसम्म काभ्रेपलान्चोक जिल्लामा  नौ जना बेपत्ता भएका छन्  । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार जिल्लाको बनेपा, पनौती र नमोबुद्द नगरपालिकामा वर्षासँगै आएको पहिरोले परी नौ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले पहिरोमा परी हालसम्म नौ जना बेपत्ता भएको बताउनुभयो । उहाँले जिल्लाको बनेपा नगरपालिका(१४ खाल्चोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएको बताउनु भयो । यस्तै पनौती नगरपालिका(११ स्थित थुम्की गाउँमा पहिरोले घर बगाउँदा चार जना, नमोबुद्द नगरपालिका २ श्याम पाटीमा पहिरोमा परी दुई जन र पनौती नगरपालिका १२ कोलाँती भुमिडाँडामा गोपाल तिमल्सिनाको घर पहिरोले बगाउँदा चार जना पुरिएकोमा तीन जनाको जीवितै उद्धार एक जना बेपता भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

उहाँले वर्षासँगै आएको बाढी पहिरोले क्षति पुराएको खबर आए पनि पहिरो र बाढीले गर्दा घटनास्थलसम्म प्रहरी पुग्न सक्ने अवस्था नरहेको बताउनुभयो । यसैबिच अविरल वर्षासँगै रोसी खोला र खहरे खोलामा आएको बाढीका कारण रोसी गाउँपालिका( १ स्थित फलामे साँघु बजार समेत बगाएको स्थानीय स्वास्थ्यकर्मी गङ्गालाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बाढीले निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पतालमा समेत क्षति पुराएको जानकारी आएको बताउनुभयो ।  वर्षाका कारण आएको पहिरोका कारण अरनिको र बिपी राजमार्ग अवरुद्ध बनेको छ ।