• १२ असोज २०८१, शनिबार

उखु र दुध किसानको भुक्तानी पक्रिया सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । सरकारले उखु र दुध किसानको बक्यौता रकम भुक्तानीको  प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीका लागि गरेको पहल शुक्रबार अर्थ मन्त्रालयले उखुका लागि एक अर्ब ४५ करोड ३२ लाख रुपियाँ र दुधको रकम भुक्तानीका लागि ६० करोड रुपियाँ निकासा गरेको कृषि मन्त्रालयले जनाएको छ । 

यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषद्को बैठकले दुध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई सो रकम सहुलियत ऋणमा दिने निर्णय गरेको थियो । कृषिमन्त्री रामनाथ अधिकारीका निजी सचिवालयका अनुसार आठ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानकै बैङ्क खातामा रकम जाने व्यवस्था गरेको छ । कञ्चनपुर, नवलपरासी पश्चिम, सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गत वर्षको अनुदान रकम पाउने भएका हुन् । त्यस्तै लामो समयदेखि दुध बिक्री गरेबापतको रकम पाउन नसकेका दुध किसानले पनि भुक्तानी पाउने भएका छन् । 

सरकारले उपलब्ध गराएको ६० करोड सहुलियत ऋणबाट किसानले चाँडै भुक्तानी पाउने डिडिसीका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताउनुभयो । कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै किसानले पाउनुपर्ने रकम भुक्तानीका लागि पहल गर्नुभएको थियो । मन्त्री अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरेको उहाँको निजी सचिवालयले जनाएको छ । उखु किसानको अनुदान रकम भुक्तानीका लागि मन्त्री अधिकारीले अर्थ मन्त्रालयलाई ताकिता गर्नुभएको थियो । मन्त्री अधिकारीले दसैँअघि नै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो । सरकारले प्रदान गरेको रकम किसानकै खातामा पुग्नुपर्नेमा पनि मन्त्री अधिकारीको जोड रहेको छ ।