• ७ मंसिर २०८१, शुक्रबार
blog

गत केही वर्षको तथ्याङ्क हेर्दा निजामती सेवामा युवाको सङ्ख्या बढ्दो क्रममा छ । तथ्याङ्कले निजामती सेवामा प्रवेश गर्ने अधिकृतको औसत उमेर २५–३० वर्षको बिचमा रहेको देखाउँछ । यो समूहले देशको सार्वजनिक प्रशासनमा अबको औसत ३० वर्ष सेवा र नेतृत्व गर्ने छ । लोक सेवा आयोगको प्रतिस्पर्धी र निष्पक्ष परीक्षा प्रणाली तथा समावेशी कानुनी व्यवस्थाले जगाएको विश्वासले नेपालको निजामती सेवा विगतको भन्दा विविधतापूर्ण र समावेशी हुँदै गएको छ । लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि पदस्थापन हुनुपूर्व नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सेवा प्रवेश प्रशिक्षणका लागि आएका अधिकृतहरूलाई नजिकबाट नियाल्दाको अनुभवका आधारमा यो आलेख तयार गरिएको छ । यहाँ नेपालको निजामती सेवाको बदलिँदो विशेषता, परिवर्तनको आशा र चुनौतीलाई प्रस्तुत गरिएको छ । 

निजामती सेवाको बदलिँदो स्वरूप

लोक सेवा आयोगले २०८० फागुन १ गते सिफारिस गरेको शाखा अधिकृतहरूको तथ्याङ्कले केही चाख लाग्दो विशेषता देखाउँछ । २२५ जना सिफारिस भएका अधिकृतमध्ये १३६ जना (६०.४४ प्रतिशत) ३० वर्षभन्दा कम उमेरका थिए भने ३१ जना (१३.७८ प्रतिशत) २५ वर्षभन्दा कम उमेरका थिए । त्यसै गरी, करिब ५० प्रतिशत समावेशी समूहबाट सिफारिस भएका थिए । उक्त समूहमा सात वटै प्रदेश र ६३ जिल्लाको प्रतिनिधित्व रहेको थियो । उनीहरूमध्ये स्नातक तहभन्दा माथि (स्नातकोत्तर) अध्ययन गरेका करिब ५६ प्रतिशत थिए । विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गर्ने पनि थिए । तीमध्ये करिब ७० प्रतिशत निजामती सेवामा नै कार्यरत थिए । वैदेशिक रोजगारबाट फर्किएकाहरू पनि थिए । निजी क्षेत्र, गैरसरकारी क्षेत्रमा काम गरेका पनि थिए भने अन्य सार्वजनिक सेवामा कार्य अनुभव भएका पनि थिए । यो समूहलाई हेर्दा लाग्थ्यो नेपालको सार्वजनिक प्रशासन ‘सयौँ थुँगा फूलको एउटै माला’ हो । प्रतिष्ठानमा आधारभूत प्रशासन प्रशिक्षणमा रहँदा यो नवप्रवेशी अधिकृतको समूहको उत्साह, विविधता, ज्ञान, सोचाइ र सार्वजनिक सेवाप्रतिको अवधारणाको समिश्रण साँच्चै नै मनमोहक र आकर्षक देखिन्छ । प्रतिष्ठानमा रहेर नजिकबाट नियाल्दाको अनुभव अविस्मरणीय छ । 

आशा के मा छ ? 

युवा जनशक्तिले ऊर्जा, आशा र नवीनताको प्रतिनिधित्व गर्छ । आसलाग्दो जनशक्तिको प्रवेश मात्रै पर्याप्त हैन, यो जनशक्तिलाई हामीले कसरी परिचालन गर्दै सार्वजनिक क्षेत्रको सुधारतिर उन्मुख गर्न सक्छौँ भन्ने कुरा महìवपूर्ण हुन्छ । हाम्रो अनुभवमा नवप्रवेशी अधिकृतसँग कहाँ, किन र कसरी आशा गर्न सकिन्छ, त्यो बारेमा यहाँ चर्चा छोटो गरौँ ।

व्यवहार

प्रतिष्ठानले प्रदान गर्ने आधारभूत प्रशासन प्रशिक्षण सेवा प्रवेशका लागि आवश्यक ज्ञान, सिप र आचरण विकास गर्ने प्रशिक्षण हो । छ महिनाको यो प्रशिक्षणमा विभिन्न सिकाइ तथा अतिरिक्त क्रियाकलापबाट प्रशिक्षण प्रदान गरिन्छ । उनीहरूले व्यावसायिक र व्यक्तिगत जीवनमा पालना गर्ने आधारभूत मूल्य मान्यताको सामूहिक रूपमा निर्माण गरी प्रतिबद्धता व्यक्त गर्दै व्यवहारमा ल्याउँछन् । यो आफैँमा महìवपूर्ण कार्य हो । प्रतिष्ठानमा समय पालनालाई उच्च प्राथमिकता दिइन्छ । प्रतिष्ठानमा रहँदा उनीहरूले समय पालनामा सधैँ प्रतिबद्ध रहन्छन् । दिएका जिम्मेवारी पूरा गर्छन् । अनुशासन, समूहभाव, समूह कार्य, जिम्मेवारी, नेतृत्व तथा सकारात्मक सोच देखाउँछन् । उनीहरूमा जिज्ञासु तथा आलोचनात्मक चेत छ । सहीलाई सही र गलतलाई गलत भन्छन् । प्रशिक्षकसँग खुला रूपमा अन्तव्रिर्mया गर्छन् । कोही प्रशिक्षक उपयुक्त लागेन भने आलोचना पनि गर्छन् । सार्वजनिक प्रशासनप्रतिको नागरिक अपेक्षा र गुनासाप्रति उनीहरू जानकार छन् । सार्वजनिक सेवालाई सुधार गर्ने विषयमा एकमत पनि हुन्छन् र अठोट पनि व्यक्त गर्छन् । कसैले सरकार र निजामती सेवाप्रति आक्षेप लगायो भने भद्र प्रतिरोध गर्छन् साथसाथै सुझावको पनि अपेक्षा राख्छन् । यी सामाजिक पुँजी नै उनीहरूप्रति आशा गर्ने प्रमुख आधार हो तर ती पुँजीलाई उनीहरूले कसरी जोगाएर राख्छन् र त्यसको सदुपयोग कसरी गर्छन्, त्यो हेर्न बाँकी छ । हाम्रो पनि आशा छ, यी पुँजी अझै सुदृढ हुँदै प्रतिफल दिने छन् ।   

प्रविधिको ज्ञान 

नवप्रवेशी अधिकृतहरू प्रविधिमा अभ्यस्त छन् । युवा जनशक्ति सार्वजनिक सेवा प्रदान गर्ने जिम्मेवारीमा रहँदा, नवीन प्रविधिको ज्ञान र सिपको उपयोग गरी सेवाको गुणस्तर सुधार गर्दै सार्वजनिक प्रशासनकै मुहार परिवर्तन गर्ने सामथ्र्य राख्छन् । आधुनिक प्रविधि, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको राम्रो ज्ञानले सार्वजनिक प्रशासनलाई आधुनिक बनाउँदै तथ्यमा आधारित नीति निर्माण र नागरिकमैत्री सेवा प्रवाह गर्न र सरकारलाई नागरिकप्रति थप उत्तरदायी बनाउन सक्छन् ।

परिवर्तनको चाहना 

युवाहरूले सिर्जनशीलता र समस्या समाधानमा नयाँ दृष्टिकोण ल्याउने गर्छन् । प्रतिष्ठानमा हुने प्रशिक्षणको दौरानमा नवप्रवेशी अधिकृतहरूले प्रस्तुत गरेका समस्या समाधानका सिर्जनशील उपायहरू यसका प्रमाण हुन् । सार्वजनिक सेवालाई समयसापेक्ष परिवर्तन गर्न अव्यावहारिक परम्परागत मान्यतालाई हटाउनु पर्ने मान्यता राख्छन् । उनीहरू विगतमा के भयो भन्दा पनि भविष्यमा के गर्न सकिन्छ ? कस्ता चुनौती आउलान् ? नागरिकको बढ्दो अपेक्षालाई कसरी सम्बोधन गर्ने ? नेपालको छविलाई कसरी सुधार गर्ने ? जस्ता विषयमा बढी उत्सुक छन् । यो चासो नै उनीहरूप्रति आशा गर्ने अर्को आधार हो । हो विगतको बारेमा जानकारी हुनु पर्छ तर त्योभन्दा बढी भविष्यको बारेमा विमर्श र छलफल हुनु पर्छ । 

उनीहरूको नवीन विचारलाई स्वागत गर्ने संस्कृतिलाई प्रोत्साहन गर्न सके सार्वजनिक प्रशासनमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिन्छ ।

सामाजिक न्याय र समावेशिताप्रति संवेदनशील 

प्रतिष्ठानमा रहँदा नवप्रवेशी अधिकृतले देखाएको सामाजिक, सांस्कृतिक तथा लैङ्गिक समानताप्रतिको प्रतिबद्धता उदाहरणीय थियो । सामाजिक न्यायप्रति प्रतिबद्ध रहँदै विविधता र समावेशिताका पक्षमा वकालत गर्ने र सामाजिक रूपान्तरणका लागि प्रयासरत रहने उनीहरूको प्रतिबद्धता सार्वजनिक प्रशासनको आधारभूत मूल्य हुन आवश्यक छ । उनीहरूले समावेशी नीतिको वकालत गर्न र सबै समुदायको आवश्यकता पहिचान गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन आफ्नो ऊर्जा प्रयोग गर्न सक्छन् । नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रदान गर्ने यो समूहले सार्वजनिक सेवाको मुहार परिवर्तन गर्न महìवपूर्ण भूमिका खेल्न सक्ने सामथ्र्य राख्छन् । 

अध्ययनशील

नवप्रवेशी अधिकृत अध्ययनशील छन् । उनीहरूलाई सार्वजनिक प्रशासनका नवीन प्रणाली तथा सिद्धान्तको ज्ञान छ । अध्ययन तथा प्राज्ञिक बहसमा रुचि राख्छन् र आफ्नो तर्क वा दृष्टिकोण निसङ्कोच राख्न सक्छन् । अध्ययन अनुसन्धान तथा लेखनमा रुचि राख्नेहरू समूह पनि ठुलो छ । उनीहरू बिचको अनौपचारिक संवाद पनि अध्ययन, अनुसन्धान तथा सार्वजनिक प्रशासनका सिद्धान्त र मूल्यमान्यताका विषयमा केन्द्रित हुन्छ । यसले पनि नवप्रवेशी अधिकृतहरूको बौद्धिक स्तर निकै राम्रो छ, जुन उनीहरूप्रति आशा गर्ने अर्को आधार हो । 

यसका अतिरिक्त उनीहरूमा अन्य थुप्रै सकारात्मक गुण छन्, जसको उचित सदुपयोग राज्य तथा सरकारले गर्नु पर्छ भने उनीहरू स्वयम् त्योभन्दा बढी जिम्मेवार हुनु आवश्यक छ ।

चुनौतीहरू के छन् ? 

उच्च महत्वाकाङ्क्षा

नवप्रवेशी अधिकृतमा उच्च महत्वाकाङ्क्षा देखिन्छ । कतिपय महत्वकाङ्क्षा अमूर्त छन् । कतिपय महत्वाकाङ्क्षा आफैँले निर्माण गरेको मूल्यमान्यता विपरीत छन् । कतिपय महत्वाकाङ्क्षा स्वार्थ केन्द्रित छन् । कतिपय महत्वाकाङ्क्षा वर्तमान सार्वजनिक प्रशासनको चरित्रले प्रवर्धन गरेका पनि छन् । त्यस्तो महत्वाकाङ्क्षाले नवप्रवेशी अधिकृत आधारभूत चरित्रलाई व्यक्तिगत लाभ वा प्राप्तिमा सीमित गर्ने जोखिम देखिन्छ । 

कार्य वातावरण

नवप्रवेशी अधिकृतले सामान्यत मातहतका कर्मचारीका रूपमा कार्य गर्छन् । उनीहरूलाई सुपरिवेक्षण गर्ने अधिकारीको कार्यशैली, कार्यालयको कार्य वातावरण तथा कर्मचारीतन्त्रको अलिखित तर जकडिएको संस्कारबिच नवप्रवेशीहरूले सङ्घर्ष गर्नुपर्ने हुन्छ । कार्य वातावरण अनुकूल भएमा सोही अनुसारको प्रभाव पर्छ, अन्यथा उनीहरू पनि क्रमिक रूपमा शिथिल हुन पुग्छन् । 

जिम्मेवारी वा सुविधा

लोक सेवा आयोगको परीक्षा उत्तीर्ण हुनु भनेको जिम्मेवारी थपिनु हो वा सुविधा प्राप्त गर्नु हो ? लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेबापत सुविधा प्राप्त गर्ने हो वा जिम्मेवारी निर्वाह गरेबापत सुविधा प्राप्त हुने हो ? यी प्रश्नहरूको सैद्धान्तिक तथा व्यावहारिक विश्लेषण हुनु आवश्यक हुन्छ । निजामती सेवालाई सुविधासँग जोडेर हेर्ने प्रवृत्तिले नवप्रवेशी अधिकृतहरूले जिम्मेवारी पन्छाउने चलन बढ्न सक्छ । यसले अख्तियारीको गलत प्रयोग गर्ने र निजी लाभमा ध्यान दिने चुनौती छ । 

अन्त्यमा

सार्वजनिक प्रशासनको गरिमा सुधार गर्न नवप्रवेशी अधिकृतहरूको क्षमता र गुणलाई ह्रास हुनबाट जोगाउन अत्यावश्यक छ । शिक्षित र अख्तियारी प्राप्त व्यक्तिले सही बाटो समाउन सकेन भने वा सीमित स्वार्थमा रह्यो भने राज्य र नागरिकप्रति धोका हो । 

पद, आवश्यकता र सीमित स्रोतको सन्तुलन मिलाउन नसक्दा र त्यस अनुसारको वातावारण नहुँदा नवप्रवेशी अधिकृतहरू आफ्नो मूलमान्यतासँग सम्झौता गर्न पुग्छन्, जुन समग्र सार्वजनिक प्रशासन, राज्य, नागरिक र स्वयम् प्रति पनि क्षति हो । निजामती सेवामा क्षमतावान्, कर्मशील र प्रतिबद्ध अधिकृतको बाहुल्यता बढ्दै गएको छ । उनीहरूको ऊर्जालाई सही सदुपयोग गर्दै समग्र सार्वजनिक प्रशासनको छवि सुधार गर्नु हामी सबैको दायित्व हो । 

(लेखकत्रय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँग आबद्ध हुनुहुन्छ । प्रतिष्ठानले २०८१ असोज ११ गते ४२ औँ वार्षिकोत्सव मनाउँदै छ ।)