• ११ असोज २०८१, शुक्रबार

तेजप्रकाशको ‘माखाल’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । स्रष्टा तेजप्रकाश श्रेष्ठको उपन्यास कृति ‘माखाल’ बिहीबार सार्वजनिक गरिएको छ । आदिवासी जनजाति मेचे समुदायभित्र सामाजिक एवं परम्परामा आधारित शासनपद्धति, गाउँको नाइके वा नेतृत्व छान्ने विधि र अभ्यासलाई ‘माखाल’ मा चित्रित गरिएको छ ।

प्राध्यापक ठाकुर शर्माका अनुसार झापा जिल्लामा बसोबास गर्ने आदिवासी जनजाति समुदायले समुदायका विवाद, झगडालाई मेलमिलाप गर्न गराउन नेतृत्व चयन गर्ने परम्परा छ । सोही सामाजिक विषयवस्तुमा यथार्थपरक कृति ‘माखाल’ ले पाठकलाई नयाँ स्वाद दिने छ । रोशनी मेचेले माखाल उपन्यासले विसं. २०३० देखि ३४ तिर मेचे समुदायमा अभ्यास हुने नेतृत्व चयन पद्धतिबारे जानकारी लिने र पहिले हाल समुदायमा भइरहेको माखाललगायत विविध परम्पराबारे बुझ्ने अवसर प्राप्त हुने बताउनुभयो ।

लेखक श्रेष्ठले मेचे समुदायबिच रहेर सो समुदायले अभ्यास गरिरहेका संस्कृति, परम्परा, खानपान, रहनसहनबारे बुझ्ने जान्ने अवसर पाएर ‘माखाल’ लेख्न सफल भएको चर्चा गर्नुभयो । मेचे समुदायले आफ्नो नेता आफैँ छान्ने परम्परालाई ‘माखाल’ भनिन्छ ।