• ११ असोज २०८१, शुक्रबार

रामलीलाका कलाकार तयार पारिँदै

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज ११ गते । दसैँको बेला नेपालगन्जमा १५७ वर्षदेखि रामलीला मञ्चन हुँदै आएको छ । रामलीला मञ्चनका लागि भारतबाट कलाकार टोली बोलाउने गरिएको छ । तथापि कहिलेकाहीँ भारतबाट कलाकार ल्याउन असम्भव हुने गरेको छ ।

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाका अनुसार ऐतिहासिक संस्कृतिका रूपमा रहेको रामलीला मञ्चनका लागि बर्सेनि भारतबाट कलाकार टोली बोलाउँदा खर्च पनि बढी लाग्ने र कहिलेकाहीँ कलाकार नपाइने भएकाले नेपालगन्जमै कलाकार तयार पारिँदै छ ।

नेपालगन्जको रामलीला मैदानमा हरेक वर्ष रामलीला मञ्चन गरिँदै आएको छ । रामलीला महोत्सवमा यस पटक भारत वृन्दावनका कलाकार बोलाइएको जनाइएको छ । उनीहरूबाटै स्थानीय कलाकारलाई रामलीलाका दृश्य, अभिनय सिकाइने छ ।

दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म स्थानीय रामलीला मैदानमा राति ८:०० देखि १२:०० बजेसम्म रामलीला मञ्चन गर्ने गरिन्छ । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभराज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्छ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो ।