• ११ असोज २०८१, शुक्रबार

सडक निर्माणसँगै हरियाली

blog

नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा नहरनजिक सडकको बिच भागमा लगाइएका बिरुवा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, असोज १० गते ।
 नेपालगञ्जदेखि बर्दियाको गुलरिया जोड्ने चारलेन सडक निर्माण कार्य सम्पन्न हुन करिब डेढ वर्ष बाँकी छ । निर्माण कम्पनीले द्रुतगतिमा सडकको काम अघि बढाएको छ । सडक निर्माणसँगै निर्माण कम्पनीले सडककोबिच भागमा वृक्षारोपण गरी बिरुवा हुर्काउने काममा पनि ध्यान दिएको छ ।

सडक निर्माणको सुरुवातसँगै रोपिएका अधिकांश बिरुवा हुर्किएको खजुराका सतिश निरौलाले बताउनुभयो । निरौलाले भन्नुभयो, ‘‘निर्माण कम्पनीले दिनरात काम गरिरहँदा सोही समयमा रोपिएका बिरुवाहरू जनावरबाट सुरक्षित भई हुर्किएका छन् ।’’ निरौलाले सडकमा रोपिएका बिरुवाको संरक्षणका लागि स्थानीय बासिन्दाले पनि साथ दिन आवश्यक भएको बताउनुभयो ।

सडक निर्माणको समयमा एक हजारभन्दा बढी ठुला रुखहरू काटिएकोमा अहिले सडकको बिच भागमा बिरुवा हुर्किएपछि सडकमा यात्रा गर्नेहरूका लागि समेत रोमाञ्चक हुन थालेको छ ।

हुलाकी सडक मात्रै नभएर नेपालगञ्ज उपमहानगरपालिकाले नगरको मुख्य सडक सुर्खेत रोडमा बिरुवा हुकाएर हरियाली समेत बनाइसकेको छ । नगर प्रमुख प्रशान्त विष्ट वातावरण संरक्षणका लागि उपमहानगरपालिकासँगै आम नगरवासी पनि उत्तिकै सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

कोहलपुर नगरपालिकाले पनि मुख्य सडकको बिच भागमा बिरुवा संरक्षण गरिरहेकोमा केही दिनअघि केही बिरुवामा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ ।