• ११ असोज २०८१, शुक्रबार

सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

blog

धनगढी समाचारदाता

धनगढी, असोज १० गते । मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक अपिल जारी गरी बिहीबारदेखि शनिबारसम्म प्रदेशका धेरै स्थानमा भीषण वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । सरकारले विपत्मा खटिने सबै मन्त्रालय, सबै जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय तह तथा सबै सरोकारवाला र स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । 

अहिलेको वर्षाले विशेषतः कृषि क्षेत्रमा बढी प्रभाव पार्ने देखिएको प्रदेश सरकारको ठम्याइ छ । मन्त्रालयका उपसचिव एवं प्रवक्ता कृष्णप्रसाद नेपालद्वारा जारी अपिलमा किसानलाई धान नकाट्न सचेत गराइएको छ । यसै गरी पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह छ । बाढीपहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपत् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीलाई तुरुन्त खबर गर्न आग्रह गरिएको छ । 

बस्तीनजिक बाढीपहिरो, डुबान जोखिमको आकलन गरी सुरक्षाकर्मी एवं स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा घरपरिवार तथा सरसमान सार्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ । 

विपत्मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान राख्न र सम्भावित विपत्लाई ध्यानमा राखी खोज, उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी मनसुनी वर्षाको उच्च जोखिममा छ । यस्तै दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम मध्यम जोखिममा छन् । 

धान भित्र्याउने बेला मनसुन सक्रिय भएपछि किसान चिन्तित बनेका छन् । पाकेको धानलाई वर्षा, बाढीले ठुलो नोक्सान गर्ने उनीहरूको भनाइ छ । धेरै जसो धान पाकिसकेकाले फेरि अबको वर्षाले धेरै क्षति गर्ने कृषक माघुराम चौधरीले बताउनुभयो । कैलालीमा कतिपय किसानले धान काटिसकेका थिए । मनसुन पुनः सक्रिय हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेपछि काटेको धानलाई किसानले भित्र्याएका छन् । धनगढी उपमहानगरपालिकामा नगर प्रहरीले मङ्गलबार बिहानैदेखि माइकिङ गरेर किसानलाई धान नकाट्न र काटेको धान साँझसम्म भित्र्याउन आग्रह गरेका थिए ।