• ११ असोज २०८१, शुक्रबार

आदर्श कराँते खेलाडी बन्ने बाटोमा एरिका

blog

एरिका गुरुङ कराँते खेलाडी तस्बिर : विकास द्धारे ।

काठमाडौँ, असोज ९ गते । होङजाउ एसियाडमा रजत पदक जित्दा नेपाली खेलकुदमा १९ वर्षीय एरिका गुरुङको नाम मात्र गुञ्जायमान भएको थियो । ठिक एक वर्षपछि चीनको होङजाउमै भएको २० औँ एसियाली सिनियर कराँते च्याम्पियनसिपमा एरिकाको थप वाहवाही भयो । सो प्रतियोगितामा पनि एरिकाले ऐतिहासिक रजत पदक जित्नुभएको हो । त्यसैले चीनबाट मङ्गलबार स्वेदश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो वर्ष झैँ एरिकाको बाजागाजासहित भव्य स्वागत भयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत नेपाल कराँते महासङ्घका पदाधिकारी, नेपाल प्रहरीका अधिकृत, प्रशिक्षक, खेलाडी, परिवारजन र समर्थकले एरिकाको स्वागतमा विमानस्थल पुग्नुभएको थियो ।

एरिका सो सम्मानको हकदार हुनुहुन्छ । अहिलेसम्म प्रतिस्पर्धा गरेको पाँच प्रतियोगितामा एरिका पदकविहीन बन्नुभएको छैन । त्यसैले एक वर्षअघि खासै नसुनिएको नाम एरिका अहिले आदर्श कराँते खेलाडी बन्ने बाटोमा हुनुहुन्छ । एरिकाले एक वर्षको अन्तरालमा चीनमा एसियाड र सिनियर एसियाली रजतबाहेक इन्डोनेसियाको जकार्तामा भएको १० औँ विश्व सितोरियो कराँते च्याम्पियनसिप, अमेरिकामा भएको प्रतिष्ठित युएस ओपन कराँते च्याम्पियनसिप र भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ । एरिकाले युएस ओपनमा एक रजत पदक पनि भिर्नुभएको थियो ।  

गत वर्ष होङजाउ एसियाडमा कसैले अपेक्षा नै नगरेका बेला एरिकाले रजत पदक जितेर सबैलाई अपार खुसी दिनुभएको हो । यस पटक भने चीनमा एरिकाबाट स्वर्ण पदकको आशा गरिएको थियो । त्यसैले पनि रजतमा सीमित हुँदा एरिका खासै सन्तुष्ट देखिनुभएन । एरिका ६८ केजीमाथि समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग एरिका ६–० ले पराजित हुनुभएको हो । यस नतिजापछि एरिकाले एसियालीस्तर कराँते प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाउने अवसर गुमाउनुभयो ।

यद्यपि यसअघि एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले पदक जित्न सकेको थिएन । त्यसैले एरिकाको यो पदक पनि ऐतिहासिक बन्यो । एरिका लगातार तीन बाउट जितेर फाइनलमा पुग्नुभएको हो । उहाँले अन्तिम १६ मा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–०, क्वाटरफाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्टसेभालाई रेफ्रीको निर्णयको आधारमा  र सेमिफाइनलमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउनुभएको थियो ।

एरिकाले फाइनलअघि घुँडामा चोट लागेपछि उपाधि भिडन्तमा स्वाभाविक प्रदर्शन गर्न नसकेको खुलासा गर्नुभयो । “स्वर्ण जित्ने लक्ष्य थियो तर घुँडाको चोटले बाधा पुर्‍यायो । विपक्षी भियतनामी खेलाडी पनि अनुभवी थियो,” उहाँले भन्नुभयो । यद्यपि उहाँले फाइनलमा बेहोरेको हारलाई इखका रूपमा लिनुभएको छ । “मलाई अझ धेरै मेहनत गर्ने प्रेरणा यस हारले दिएको छ । आगामी दिनमा योभन्दा राम्रो नतिजा दिने विश्वास दिलाउन चाहन्छु,” एरिकाले भन्नुभयो ।

प्रशिक्षक कुशल श्रेष्ठले पनि चोटका कारण एरिकाले फाइनलमा अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेको भनाइ राख्नुभयो । प्रशिक्षक श्रेष्ठले धेरै क्षमता भएको एरिकाले हारलाई शिक्षाका रूपमा लिएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

राखेपका सदस्यसचिव घिसिङले एरिकाले फेरि आफूलाई प्रमाणित गरेको र उहाँले नेपाललाई अझ ठुला उपलब्धि दिलाउनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो । उहाँले सन् २०२६ मा जापानमा हुने २० औँ एसियाली खेलकुदमा कराँते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एरिकासँगै अन्य खेलाडीले पनि सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि राखेपले सहयोग गर्ने छ, भन्नुभयो । यसै गरी नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामाले विमानस्थलमै रहेका एरिकाका मातापितालाई लक्षित गर्दै भन्नुभयो, “तपाईंहरूकी छोरी अब एरिका नेपालकै छोरी भइसकिन् ।”

२० औँ सिनियर एसियाली कराँतेमा एरिकासँगै जिया कार्की, निरूपा दोङ तामाङ, मीनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, मोहम्मद सेखु आलम, आशिष श्रेष्ठले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । यसै गरी टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापा तथा एकल कातामा स्वनिम मानन्धरले खेल्नुभएको थियो ।